Logo

समाचार

आफू वडाध्यक्ष हुँदा करिब १४ कि.मी. माउन्टेन बाइक ट्रेकिङ पदमार्ग निर्माण गरेको गाउँपालिका अध्यक्ष बुढामगरको दाबी



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढामगरले आफू परिवर्तन गाउँपालिका वडा नं.५ राङ्कोटको वडाध्यक्ष हुँदा आफ्नो कार्यकालमा परिवर्तन गाउँपालिकाको गोरीचौर देखी छड्केधुरी फूलबारी हुँदै थबाङ जोड्ने युद्ध तथा धार्मिक पर्यटनका लागि माउन्टेन बाइक ट्रेकिङ पदमार्गको करिब १४ किलोमिटर कार्य सम्पन्न दाबी गरेका छन् । पालिका अध्यक्ष बुढामगरले पत्रकार सुर्य प्रकाश बुढामगरसँगको एक संवादमा सो कुराको दाबी गरेका हुन् ।

पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज साझेदारी कार्यक्रम अन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका छनोट परेको थियो । २०७७ फागुन २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदारीमा २ सय आयोजना छनोट गरेको थियो । जस अन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका २०७७ फागुन २८ गते समावेश भएको थियो । माउन्टेन बाइक ट्रेकिङ निर्माणको लागि १ करोड रुपियाँ लागतको अनुमान गरिएको थियो । संघीय सरकारको पर्यटन मन्त्रालयले ७० लाख रुपियाँ उपलब्ध गराउने र परिवर्तन गाउँपालिकाले ३० लाख रुपियाँ खर्च व्यहोर्ने गरि काम अगाडि बढाइएको थियो । करिब १ करोडको लागतमा निर्माण भएको र अझै पुरा नभएको बताउदै अध्यक्ष बुढामगरले उक्त पदमार्गलाई निर्माणको लागि निरन्तरता दिने बताएका छन् ।

रोल्पामा युद्ध पर्यटन विकासका लागि सुनछहरी गाउँपालिका, थबाङ गाउँपालिका र रुन्टिगढी गाउँपालिकाको होलेरीलाई पनि साझेदारी कार्यक्रममा राख्ने प्रयास गरिएको थियो । तर छनोट कार्यक्रममा परिवर्तन गाउँपालिका परेको थियो भने लुम्बिनी प्रदेशबाट दुई वटा पालिका छनोट भएका थिए । रोल्पा बाट परिवर्तन गाउँपालिका र रुपन्देही बाट बुटवल उपमहानगरपालिका छनोट भएको थियो । सबै भन्दा ठूलो रकम बुटवल उपमहानगरपालिकाले पाएको थियो । उपमहानगरपालिका अन्तर्गत बटौली(जितगढी) युद्ध संग्राहलय निर्माणका लागि संघीय पर्यटन मन्त्रालयले ४ करोड ९७ लाख रुपैयाँ पाउने भएको थियो । जितगढी अंग्रेजसँगको युद्धमा नेपालले विजयी हासिल गरेको ऐतिहासिक ठाउँ समेत मानिन्छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ८ : २४ बजे