Logo

Breaking News 1

आजबाट मेलम्ची सुरूङको ढोका बन्द, अब बर्खापछि मात्रै खोलिने



काठमाडौं । मेलम्ची खानेपानीको ढोका बन्द गरिएको छ ।

सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि ढोका बन्द गरिएको हो ।

बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरि प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ ।

बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो ।

मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो । अस्थायी संरचना तयार पारेर पानी सुरूङमा पथान्तरण गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १२ : ४३ बजे