काठमाडौं । शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’का कारण आगामी तीन दिन देशभरका हवाई गतिविधि प्रभावित हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उच्च सुरक्षा सतर्कता अपनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ ।
जल तथा मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनलाई उद्धृत गर्दै प्राधिकरणले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रतर्फ अघि बढेको ‘अर्नब’ आँधीको असर नेपालमा पनि देखिने जानकारी गराएको हो ।
यस मौसमी प्रणालीका कारण मुलुकका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा, मेघगर्जनसहित चट्याङ, तीव्र हावाहुरी तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । आँधीको असरले विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई उडानहरू बढी प्रभावित हुन सक्ने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ ।
प्राधिकरणका प्रवक्ता विक्रम राज गौतमका अनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म मौसम प्रतिकूल बन्ने देखिएकाले नियमित उडान तथा विमानस्थल सञ्चालनमा चुनौती थपिन सक्नेछ ।
प्रतिकूल मौसमका कारण हवाई सेवामा पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी उडान सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न वायुसेवा कम्पनी तथा विमानस्थल कार्यालयहरूलाई सचेत गराइएको छ ।
साथै, मौसमी खराबीका कारण उडान समयतालिका हेरफेर तथा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनी वा विमानस्थलमा सम्पर्क गरी उडानको पछिल्लो अवस्था बुझ्न प्राधिकरणले अनुरोध गरेको छ ।








प्रतिक्रिया