काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदान गर्न खुलामञ्चस्थित मतदानस्थलमा प्रतिनिधिहरू घण्टौँ लाइनमा बसेका छन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्न विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भइरहेका छन्।
सप्तरी क्षेत्र नम्बर ४ का प्रतिनिधि अनिल चौधरी बिहान साढे ७ बजेदेखि लाइनमा बसेको बताउँछन्। लामो समय लाइनमा बस्नुपरे पनि मतदान गरेरै फर्किने उनको भनाइ छ।
आफूले मत दिएका उम्मेदवारले जित्नेमा शतप्रतिशत विश्वास रहेको उनले बताए।
चौधरीले नेपाली कांग्रेसले लोकतन्त्रका लागि गरेको योगदान र विभिन्न आरोह–अवरोह पार गर्दै पार्टीलाई यहाँसम्म ल्याएको भन्दै सभापति गगन थापालाई पुनः मतदान गर्न आफूहरू आएको बताए।
त्यस्तै, सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधि सीताराम यादव पनि मतदानका लागि बिहानैदेखि मतदानस्थलमा पुगेका थिए। मतदानका लागि केही कठिनाइ भए पनि आफू उत्साहित भएर जिल्लाबाट आएको उनले बताए। आफूले मत दिएका उम्मेदवारले जित्ने विश्वाससमेत उनले व्यक्त गरे।
सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि जंगबहादुर महतोले जति समय लागे पनि मतदान गरेरै फर्किने बताए। वर्तमान राजनीतिक अवस्थालाई निकास दिन महाधिवेशन महत्त्वपूर्ण हुने विश्वासका साथ आफूहरू प्रतिनिधि भएर नेतृत्व चयन प्रक्रियामा सहभागी भएको उनले बताए।
महाधिवेशनमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू लामो समय लाइनमा बसेर मतदानमा सहभागी भइरहेका छन्। नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानसँगै खुलामञ्चस्थित मतदानस्थलमा चहलपहल बढेको छ।








प्रतिक्रिया