Logo

अर्थ

शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक



काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ ।

कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा असोज २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित स्मार्ट दरबारमा आयोजना गर्ने निर्णय गरेको हो । सभाको प्रमुख एजेन्डाका रूपमा हाल कायम एक सेयरबराबर अर्को एक सेयर (१ः१) अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव राखिएको छ । प्रस्ताव पारित भए कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख २५ हजार कित्ता हकप्रद सेयर जारी गर्न सक्नेछ ।

हाल कम्पनीको चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रदबाट समान रकमको थप पूँजी जुटेपछि चुक्तापुँजी ९८ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यद्यपि साधारणसभाबाट प्रस्ताव पारित भएलगत्तै हकप्रद निष्कासन भने हुने छैन । कम्पनीले विद्युत् नियमन आयोगसहित सम्बन्धित निकायको सहमति तथा नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्रै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

तीन वर्षका वित्तीय विवरण पारित

साधारणसभामा तीनवटै आर्थिक वर्षका वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण अनुमोदन गरिने प्रस्ताव छ ।

साथै, आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लेखापरीक्षक तथा पारिश्रमिक अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने कार्यसूची पनि समावेश गरिएको छ । कम्पनीले एक महिलासहित तीन सञ्चालक निर्वाचित गर्ने तथा सञ्चालक समिति गठनसम्बन्धी प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

पूँजी संरचना संशोधन

विशेष प्रस्तावअन्तर्गत कम्पनीको ठेगाना परिवर्तन, अधिकृत तथा जारी पूँजी संशोधन र हकप्रद निष्कासनसँग सम्बन्धित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । नियामक निकायबाट आवश्यक निर्देशन आए त्यसअनुसार परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि राखिएको छ ।

असोज १५ मा बुक क्लोज

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार असोज १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीले सभामा सहभागी हुन, छलफल गर्न र मतदान गर्न पाउनेछन् । कम्पनीले प्रस्तावित हकप्रद सेयरका लागि भने नियामकीय स्वीकृति प्राप्त भएपछि छुट्टै बुक क्लोज मिति घोषणा गर्ने जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ९ : ४९ बजे