Logo

मुख्य समाचार

सुनसरीका विभिन्न स्थानमा निकालियो राधाकृष्ण रथयात्रा



इनरुवा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिबार सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा राधाकृष्ण रथयात्रा निकालिएको छ । 

सदरमुकाम इनरुवा सहित इटहरी, दुहबी, हरिनगर, भोक्राहा नसिंह गाउँपालिका सहित जिल्लाको बिभिन्न स्थानमा रथयात्रा निकालिएको छ । 

इनरुवा ३ मा रहेको राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः मन्दिरमा गएर समापन भएको मन्दिर समितिका अध्यक्ष केशरी निरौलाले जानकारी दिए । 

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रथयात्रामा भगवान् श्रीराधाकृष्णको प्रतिमा राखिएको रथलाई नगरका विभिन्न भागको परिक्रमा गराइएको निरौलाले बताए । रथयात्रामा विभिन्न समुदायका श्रद्धालु, भक्तजन, स्थानीयवासी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागीता रहेको थियो । 

श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको रथयात्राले धार्मिक आस्था, सामाजिक सद्भाव तथा सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास लिएको आयोजकले जनाएको छ । 

रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत सुरक्षामा खटिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

यसैबीच कृष्ण जन्माष्टमी अर्को दिन जिल्लाको बिभिन्न ठाउँमा मेला समेत लागेको स्थानीयवासीले बताएका छन् । जिल्लाको कोसी, भोक्राहा, हरिनगर, देवानगन्ज, गढी लगायतका स्थानमा मेला समेत लागेको स्थानीयवासीले बताएका छन् । मेला भर्नका लागि सयौको संख्यामा स्थानीय भक्तजनको सहभागीता रहेको स्थानीय पत्रकार सुरेन्द्र मेहताले बताए । 

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ५ : ०३ बजे