काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट जलविद्युत् आयोजनामा भएको क्षति, सुरुङमा फसेका कर्मचारी तथा मजदुरको उद्धार र राहत कार्यबारे छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
बिहीबार बिहान ११ बजे सुरु भएको भेटमा घिसिङले बाढीबाट क्षतिग्रस्त एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको अवस्था र ती आयोजनामा कार्यरत तथा सुरुङभित्र फसेका जनशक्तिको अवस्थाबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि घिसिङले प्रधानमन्त्रीसँग भेटका लागि समय मागेका थिए। उनले बाढी गएको नौ दिन बितिसक्दा पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
भेटमा प्रधानमन्त्री शाहले उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोत–साधन परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने बताएका छन्।
भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट जलविद्युत् आयोजनासहित भौतिक संरचनामा क्षति पुगेको छ। बाढीपछि विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा मजदुर उद्धारको प्रतीक्षामा रहेका छन्।








प्रतिक्रिया