Logo

खेलकुद

नेपाल लगातार दोस्रो जितसँगै सेमिफाइनल नजिक



काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

बिहीबार यूकेएम यूएसडी ओभलमा भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्‍यो । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाए । उनले ६८ बलमा चार चौका प्रहार गरे । इशान पाण्डेले २०, रोहितकुमार पौडेलले १० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन जोडे । अर्जुन र इशानले तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए ।

मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो । उसका लागि कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ तथा मोहम्मद स्याहदत रमीलले १३ रन बनाए ।

नेपालका करण केसीले चार विकेट लिए । ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको छ र समूह ‘ए’को शीर्ष स्थानमा छ । दुई अंकसहित मलेसिया दोस्रो स्थानमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो । मलेसियाले पहिलो खेलमा साउदी अरेबियालाई ९३ रनले हराएको थियो ।

नेपालले अब आइतबार साउदी अरेबियासँग खेल्नेछ ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १२ : २४ बजे