काठमाडौं । भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।
चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ ।
उक्त ताल निरन्तर बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ । ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो ।
बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
महाशाखाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय तह र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत आग्रह गरेको छ ।








प्रतिक्रिया