काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
तिब्बतको च्याङलु लगायतका क्षेत्रमा बाढीले निकै ठुलो विनाश निम्त्याएको जानकारी दिँदै अधिकारीले क्षतिको यकिन विवरण आउन भने केही समय लाग्ने उल्लेख गरे । उनका अनुसार बाढीको आयतन (भोल्युम) निकै ठुलो रहेकाले सीमा क्षेत्रका कतिपय सञ्चार सम्पर्क विन्दुहरू समेत अवरुद्ध हुने अवस्थामा पुगेका छन् ।
तिब्बततर्फ मानवीय र भौतिक क्षति निकै उच्च रहेको खबरहरू प्राप्त भइरहेकाले नेपालतर्फका तल्लो तटीय क्षेत्रमा पनि यसको गम्भीर असर पर्न सक्ने भन्दै उनले सबैलाई सजग रहन आग्रह गरेका छन् ।
‘तिब्बततर्फ मानवीय क्षति एकदमै ठुलो भोल्युममा भएको छ, अब कति भन्ने विवरण आउन बाँकी छ,‘ अधिकारीले भने ।
बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने भोटेकोशी र त्रिशूली नदीको किनारमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले निर्देशन दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले नदीमा पानीको सतह अनपेक्षित रूपमा बढिरहेकाले तटीय क्षेत्रमा कुनै पनि गतिविधि नगर्न र उच्च सतर्कताका साथ सुरक्षित रहन आम जनसमुदायलाई अपिल गरेका छन् ।
प्रशासनले तटीय क्षेत्रमा सञ्चालित आयोजना, मजदुर र स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र कुनै पनि विपद्को संकेत पाउनसाथ सुरक्षा निकायमा खबर गर्न समेत सूचित गरेको छ ।
बाढीको जोखिम अझै कायमै रहेकाले अर्को सूचना नआएसम्म नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।








प्रतिक्रिया