काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारबीच सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको छ ।
भेटका क्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायले युगौँदेखि भोग्दै आएको विभेद, बहिष्करण र अन्यायप्रति राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सरकारलाई बुझाउने सुझाव पत्रबारे सचेतक परियारलाई जानकारी गराएका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ को बुँदा नम्बर ५ मा दलित समुदायसँग राज्यका तर्फबाट औपचारिक क्षमायाचना गर्ने विषय समेटिएकोमा आयोगका तर्फबाट सरकारप्रति आभार व्यक्त गरिएको छ ।
सोही निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन र सुझावहरू पारित गराउन संसदीय स्तरबाट सकारात्मक भूमिका खेल्न आयोगले रास्वपासँग आग्रह गरेको छ ।
छलफलका क्रममा रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायको अधिकार, समानता र आत्मसम्मानका लागि राष्ट्रिय दलित आयोगले उठाएका सुधारमुखी सुझावहरूलाई संसद् र नीतिगत तहमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे ।








प्रतिक्रिया