Logo

राजनीति

पहिलो वर्ष सुशासनमा केन्द्रित, भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता : प्रधानमन्त्री 



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको र भ्रष्टाचार तथा बेथिति अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् । 
आइतबार प्रतिनिधिसभाको बैठकमा रास्वपका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै विकास निर्माणलाई रोकिने नभइ सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । 
उनको अनुसार सरकारको पहिलो वर्षमा राज्यका विभिन्न निकायमा देखिएका बेथिति, अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । 
उनले भने,‘हाम्रो पार्टीका मन्त्री र सभापतिले मुख्य प्राथमिकता सुशासन हो भन्दै आउनुभएको छ । पहिलो वर्षलाई सुशासनको वर्ष भनेको छौँ । त्यो भनेको विकास गर्दैनौँ भनेको होइन । तर यो वर्षलाई सरकार र मान्य सांसदको निगरानीमा पनि विभिन्न निकाय र पालिका निकाय छन् । पहिलो वर्ष सुशासन, बेथितिलाई हटाउने, बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई निर्मुल गर्न सरकार र पार्टी तत्पर छ । विभिन्न कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, मालपोत, यातायातमा जाँदा पनि देख्नुभएको छ होला त्यसलाई निरन्तरता दिन्छौं ।’ 
प्रमुख सचेतक बुर्लाकोटीले सुशासनको दृष्टिबाट केही अघिसम्म सरुवा–बढुवामा घुस नखाइ नहुने अवस्था रहेको सरकार बनेपछि त्यो कुरा चिरिएको भन्दै सरकारले यसरी नै काम गर्न लागेको छ भनेर प्रस्ट्याइदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए । 
उनले भनेका थिए,‘संसदमा जवाफ दिन आइदिनुभएकोमा प्रधानमन्त्रीप्रति सम्मान व्यक्त गर्छु । आम नागरिकले अद्भूत जनमत दिएर पठाएकोमा आम नागरिकलाई धन्यवाद । सुशासनको दृष्टिबाट केही अघिसम्म सरुवा बढुवा घुस नखाइ नहुने अवस्था थियो । यो सरकार बनेपछि त्यो कुरा चिरियो । आम जनमत सुशासन र समृद्धिका लागि हो भन्नेमा दुई मत छैन । सरकारले यसरी नै काम गर्न लागेको छ भनेर प्रस्ट्याइदिन हुन अनुरोध गर्दछु,’

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ३ : १७ बजे