काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ ।
हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो ।
डब्ल्युएचओ सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन् । सन् १९८७ मा विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्ताव डब्लुएचए ४०.३८ ले सन् १९८८ अप्रिल ७ लाई ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो ।
त्यसपछि सन् १९८८ मा पारित प्रस्ताव डब्लुएचए ४२.१९ अनुसार हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउन थालिएको हो । डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब ८८१ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् । तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन् ।
पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ । सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ ।
यस वर्षको दिवसको अवसरमा डब्ल्युएचओेले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ ।
सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ८८चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छ भने विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ निरन्तर बढिरहेको छ ।
डब्ल्युएचओले सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादनलाई अझ आकर्षक, प्रयोग गर्न सहज र छोड्न कठिन बनाउने गरी विकास गरिरहेका जनाएको छ ।
विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत तिनले किशोर र युवालाई अम्मली बनाएका सङ्गठनको भनाइ छ ।








प्रतिक्रिया