Logo

Breaking News 1

क्रियाशील सदस्यता पुनः अध्यावधिक गर्न दबाब दिएको भन्दै कांग्रेस नेता शाहीको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशनका लागि आफूले क्रियाशील सदस्यता पहिले नै नवीकरण (अध्यावधिक) गरिसकेको अवस्थामा पुनः अध्यावधिक गर्न दबाब दिनु अनुचित भएको बताएका छन् ।

शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टी कसैको निजी सम्पत्ति नभएको उल्लेख गर्दै धम्की र मनपरी ढंगबाट पार्टी सञ्चालन हुन नसक्ने बताएका हुन् ।

उनले आफूहरू कसैको ‘दास र लास’ नभएको उल्लेख गर्दै सदस्यता अध्यावधिकको विषयमा पार्टी नेतृत्वसँग पाँच प्रश्न उठाएका छन् ।

उनले जेठ २१ भित्र पुनः अध्यावधिक नगरेको आधारमा वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्कालगायत आफूहरू सबैको सदस्यता खारेज गर्न खोजिएको हो कि भन्ने प्रश्न गरेका छन् ।

त्यस्तै, अध्यावधिकको नाममा अधिकांश सदस्यलाई बाहिर राखेर विशेष महाधिवेशनजस्तै प्रक्रिया अपनाई पार्टीमाथि एकलौटी नियन्त्रण स्थापित गर्न खोजिएको हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन् ।

शाहीले पहिले नै नवीकरण गरिसकेका सदस्यलाई समेत पुनः अध्यावधिक नगरेको बहाना बनाएर जेठ २१ पछि सदस्यता रद्द गर्ने तथा पार्टी विभाजनतर्फ लैजाने षड्यन्त्र भइरहेको हो कि भन्ने प्रश्न उठाएका छन् ।

उनले जेठ २१ पछि आफूहरू सदस्यताविहीन भई स्वतन्त्र नागरिकका रूपमा रहनुपर्ने अवस्था सिर्जना हुने हो कि भन्ने जिज्ञासा पनि राखेका छन् । साथै, सदस्यता खारेज गरिए आफूहरूले पहिले नै बुझाएको नवीकरण शुल्क फिर्ता गरिने वा पार्टीले नै राख्ने भन्ने प्रश्नसमेत गरेका छन् ।

विज्ञप्तिमा शाहीले ‘जहाँ अन्याय, त्यहाँ विद्रोह’ भन्ने नारासहित पार्टी नेतृत्वलाई सदस्यता अध्यावधिक प्रक्रियाबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ११ : ४१ बजे