Logo

Breaking News 1

गलत झारनाशक औषधिको प्रयोगले उखु बाली नष्ट, किसान चिन्तित



सर्लाही । गलत झारनाशक औषधिको प्रयोगका कारण सर्लाहीको रामनगर गाउँपालिका–१ का किसान राजमंगल रायको उखु बालीमा ठूलो क्षति पुगेको छ ।

करिब तीन बिघा क्षेत्रफलमा लगाइएको उखु खेती सुक्न थालेपछि किसान राय चिन्तित बनेका छन् । रायका अनुसार उनले खेतमा उम्रिएको घाँसपात नियन्त्रण गर्न जिल्लाकै बरहथवा बजारस्थित एक कृषि औषधि पसलबाट झारनाशक औषधि खरिद गरेका थिए ।

पसलेले दिएको सल्लाहअनुसार उक्त औषधि प्रयोग गरेपछि केही दिनमै उखुका बोट पहेँलिन थालेका थिए । बिस्तारै बोट सुक्दै गएपछि बाली नै नष्ट हुने अवस्थामा पुगेको उनले बताए ।

उनले औषधि बिक्री गर्ने पसलेकै कारण आफ्नो खेतीमा क्षति पुगेको दाबी गरेका छन्। उखु बालीका लागि उपयुक्त नभएको झारनाशक औषधि दिइएका कारण बाली नष्ट भएको उनको भनाइ छ ।

“घाँस हटाउन औषधि मागेको थिएँ, तर पसलेले दिएको औषधि प्रयोग गरेपछि उखु नै सुक्न थाल्यो,” रायले नेपाल भने, “गलत विषादी दिएका कारण मेरो तीन बिघाको उखु खेती नष्ट भएको छ ।”

स्थानीय किसानहरूका अनुसार कृषि औषधि खरिद गर्दा अधिकांश किसान पसलेको सल्लाहमै निर्भर हुने गरेका छन् । तर प्राविधिक ज्ञानबिना बिक्री गरिने विषादी तथा झारनाशक औषधिका कारण किसानहरू पटक पटक घाटा बेहोर्न बाध्य हुने गरेको उनीहरूको भनाइ छ ।

कृषि क्षेत्रका जानकारहरूका अनुसार बालीको प्रकृतिअनुसार उपयुक्त झारनाशक छनोट गर्न नसक्दा मुख्य बालीमै गम्भीर असर पर्न सक्छ । त्यसैले विषादी तथा झारनाशक औषधिको प्रयोगअघि कृषि प्राविधिकको सल्लाह लिन आवश्यक हुने उनीहरू बताउँछन् ।

पीडित किसान रायले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा आफूले व्यहोरेको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन् । साथै, स्थानीय किसानहरूले कृषि औषधि पसलहरूको नियमित अनुगमन र नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ७ : ४९ बजे