Logo

मुख्य समाचार

महिलालाई सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ : उपराष्ट्रपति



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व, शिक्षा, उद्यमशीलता र सामाजिक योगदानमा सहभागी गराउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८३ को अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा हार्दिक बधाइसहित सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले सो आवशयकता औँल्याएका हुन् ।

उपराष्ट्रपति यादवले महिलामाथि हुने सबै प्रकारका हिंसा, विभेद र असमानताविरुद्ध सामूहिक आवाज उठाउने अवसरका रूपमा पनि यस दिवसलाई लिन सक्नुपर्ने उल्लेख गर्दै संविधानमा उल्लेखित लैङ्गिक समानताका प्रावधानलाई व्यवहारमा उतार्न तथा सामाजिक चेतना फैलाउन यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

सम्पत्तिमा समान हक, स्थानीय तहमा महिलाको अनिवार्य प्रतिनिधित्व, राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिलाको सहभागिता तथा समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा एक तिहाइ महिलाको सुनिश्चितता, यी संवैधानिक व्यवस्थाले महिलाको अधिकारलाई संस्थागत बनाएको उपराष्ट्रपति यादवको भनाइ छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ६ : ४८ बजे