Logo

Breaking News 1

गणतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै


१५ जेष्ठ २०८३, शुक्रबार  

23
Shares

काठमाडौं । आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । 

जनआन्दोलन ०६२/६३ को जगमा गणतन्त्र  घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ । 

यसैबीच, आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइनेछ ।

सोही दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा  हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

आजको कार्यक्रमलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भने सम्बोधन गर्ने छैनन् । गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरिसकेका छन् । 

यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास थियो । तर, यसपटक संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ६ : १५ बजे