पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोले घर बगाएपछि याङवरक–१, लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सातजना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गंगाप्रसादको ६ जनाको परिवार उनका दाजु दुर्गा बेघाको घरमा बसेको छ ।
सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।
बाढीपहिरोका कारण कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर जोखिममा छ ।
जलविद्युत् आयोजनाहरूमा क्षति
बाढी र पहिरोले याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोलामा रहेको इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ । यस्तै पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।
यस्तै याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ । बाढी र पहिरोले टीकारामे, डल्लेढुंगा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिए ।








प्रतिक्रिया