Logo

Breaking News 1

परिवर्तनको नाममा परम्परा तोड्नु हुँदैन : सांसद केसी



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले शिक्षा प्रणालीलाई आत्मनिर्भर र जीवनोपयोगी बनाउने गरी सुधार आवश्यक रहेको बताएका छन् ।

परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकामा एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले परम्परागत मूल्य र आदर्शलाई जोगाउँदै समयअनुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले संस्कृतिमा रहेका सकारात्मक पक्षहरूलाई संरक्षण गर्दै अन्धाधुन्ध परिवर्तन स्वीकार गर्न नहुने धारणा राखे ।

उनले भने, ‘शैक्षिक क्षेत्रको सुधार गर्न आवश्यक नै छ । अहिले हामीलाई आत्मनिर्भर, जीवन उपयोगी शिक्षा चाहिएको छ । हाम्रा पुराना आदर्शहरुलाई जोगाएर राख्नुपर्छ । परम्परा तोड्ने नाममा जुत्तालाई टाउकोमा र टोपीलाई खुट्टामा लगाउने काम त पक्कै हामीले गर्नु हुँदैन ।’

केसीले लोकतान्त्रिक परम्परा र संवैधानिक अभ्यासको पालना अनिवार्य रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिर जाने प्रवृत्ति निरंकुश हुने टिप्पणी गरे । उनले वर्तमान सरकारबारे टिप्पणी गर्दै लोकतान्त्रिक परम्पराभित्र रहेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘कतिपय परिवर्तनहरु खासगरी लोकतान्त्रिक मान्यताका परम्पराहरु परिवर्तनशिल छैनन् । कि त व्यवस्था नै परिवर्तन हुनुपर्यो । अहिले परिवर्तित भएर आएको सरकार लोकतान्त्रिक परम्पराको संविधान भित्रको होइन । लोकतान्त्रिक परम्पराबाट बाहिर जानु निरकुंश प्रवृत्ति हो भन्ने लाग्छ । अहिले पनि प्रतिक्षामा छौं, हामी कुनै सरकारलाई असजिलो बनाउने पक्षमा पटक्कै छैनौं ।’

त्यस्तै, संसद र संसदीय अभ्यासबारे बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम पारित हुने प्रक्रियामा राष्ट्रिय सभाको भूमिका र संसदीय परम्पराको सम्मान गरिएको उल्लेख गरे । प्रधानमन्त्रीको संसदमा अनुपस्थितिलाई लिएर उठेका प्रश्नहरूबारे आफ्नो दलले गम्भीर रूपमा चासो राखेको पनि उनले बताए ।

उनले भने, ‘यदी सरकारलाई असजिलो बनाउन चाहेको भए राष्ट्रिय सभाबाटै नीति तथा कार्यक्रम फेल गर्न सक्थ्यौं होला । संसारभरको परम्परामा हुँदा पनि संसदमा प्रधानमन्त्री उपस्थिति नहुने कुरामा गम्भीर असहमति र गम्भिरतापूर्वक उठाएको कुरा हो ।’

नेता केसीले नेपाली कांग्रेस देशको हित, समृद्धि र रचनात्मक काममा सधैं सहयोग गर्न तयार रहेको तर लोकतान्त्रिक सिद्धान्त र स्थापित परम्परा कमजोर पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले भने, ‘कहिले पनि रचनात्मक काम, देशको हित हुने काम, समृद्धिका काममा नेपाली कांग्रेस प्रतिक्षा र धैर्यतापूर्वक सहयोग गर्न तयार छ । तर परम्परा तोड्ने काममा लोकतन्त्रका आधारभूत सिद्धान्तहरुलाई तोड्ने र विश्वव्यापी रुपबाट रहेका मान्यता तोड्ने, हाम्रा इतिहास परम्परा र गौरवहरुलाई तोड्ने काम नेपाली कांग्रेस स्वीकार्य गर्न सक्दैन र गर्दैन पनि ।’

सोही कार्यक्रमम कांग्रेसका सचेतक निश्कल राई, कांग्रेस नेता सबुज बाँनियालगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ३ : २७ बजे