Logo

मनोरञ्जन

विद्यार्थीमाझ ‘लालीबजार’ : फिल्म हेर्न विद्यालयले नै लिए अगुवाइ



काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको फिल्म ‘लालीबजार’ आजदेखि तेस्रो सातामा प्रवेश गरेको छ । तेस्रो सातामा प्रवेश गरेको फिल्म ‘लालीबजार’ लाई पछिल्लो समय विद्यालयले आफ्नो विद्यार्थीलाई देखाउन थालेका छन् ।

काठमाडौँसँगै मोफसलका केही हलमा विद्यार्थीलाई विद्यालयले हल ल्याएर फिल्म देखाउन थालेका हुन् । फिल्मले दिएको सन्देशले शिक्षाको महत्वलाई दर्शाउने बताउँदै विद्यालयले फिल्म देखाउन थालेका हुन् ।

आमा र छोरीको कथामा आधारित फिल्मले शिक्षित भएपछि शासकले गरेको शोषण र कुप्रथा विरुद्ध आवाज उठाउन प्रेरित गर्छ । सोही कारण शिक्षा महत्व झल्किने भएकाले पनि विद्यार्थीलाई ल्याएर विद्यालयले फिल्म देखाउन थालेका हुन् । यो क्रम काठमाडौँसँगै मोफसलमा पनि बढेको छ ।

बिहिबार मात्र नेपालगंजको सिने रोयलमा ६ सयको हाराहारीमा विद्यार्थीले फिल्म हेरेका थिए । दिनभरकै शोमा विद्यार्थीको आगमन भएपछि फिल्मका नव कलाकार विशाल देवकोटा, प्रशंसा सुवेदी र समाईरा थापा भेटघाट गर्न पुगेका थिए । आज शुक्रबार पनि केही विद्यालयका विद्यार्थीले फिल्म हेर्ने स्थानीय प्रदर्शकले जनाएका छन् ।

यस्तै, फिल्मले प्रदर्शनको १४ औँ दिनसम्ममा नेपालभरबाट ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनी षट्कोण आट्र्सले जनाएको छ । कम्पनिका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले जेठ ७ गते बेलुकी ११ः५९ सम्ममा उक्त ग्रस कलेक्सन गरेको हो ।

‘फिल्मले नेपालभर पाइरहेको माया हाम्रो लागि अमूल्य छ । फिल्मले आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई दर्शाएको थियो, त्यसलाई आम दर्शकले राम्रोसँग बुझ्नुभयो । अहिले विदेशमा रहेका छोराछोरीले फिल्म हेर्ने आफ्नो अभिभावक पठाएका छन्, स्वदेशमै रहेका छोरीले आमालाई लिएर हल आउनुभएको छ । हामीलाई विश्वास गरेर आउनुभएका दर्शक सन्तुष्ट भएर फर्किनुभएको छ, त्यो हाम्रो ठूलो सफलता हो’, निर्माता समेतरहेका सीइओ खत्रीले भने ।

उनले प्रदर्शनको पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी दिए । नेपालभरका प्रमुख सहरमा दर्शक भेटेर फर्किएकी अभिनेत्री स्वस्तिमा खड्काले देशभर नै दर्शकको माया उस्तै रहेको बताइन् ।

नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । फिल्म हेरेर निस्किने अधिकासले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् । दर्शकले दिईरहनुभएको ‘वर्ड अफ माउथ’ ले आगामी विकेन्ड फिल्मका लागि सुखद हुने अपेक्षा बढेको छ ।

‘लालीबजार’ को हिरो नै स्वस्तिमा खड्का हुन् । उनले निर्वाह गरेको भूमिकाको अहिले सर्वत्र चर्चा बढेको छ । फिल्मको गीतमा उनले गरेको नृत्य होस् वा उनले गरेको अभिनयको चर्चा अहिले छ । उनले फिल्म प्रचारका लागि गरेको मेहनतको चर्चा पछिल्लो समय फिल्मनगरीमा मेकरले नै गर्न थालेका छन् ।

सम्भवत पहिलोपटक कुनै अभिनेत्री प्रोटागोनिस्ट भएको फिल्मले पाँच करोड रुपैयाँको ग्रस कलेक्सन प्रदर्शनको दुई सातामा पुरा गरेको छ । तेस्रो सातामा प्रवेश गर्दै गर्दा फिल्मले पाएको शो सङ्ख्याले आगामी विकेन्ड पनि फिल्मका लागि सुखद हुने छ ।

यस फिल्ममार्फत स्वस्तिमाको अभिनयसँगै उनको स्टारडमको चर्चा पनि बढेको छ । किनकि उनकै शिर्ष भूमिका रहेको फिल्म उनकै पात्रको वरिपरी घुमेको छ । प्राय फिल्ममा अभिनेत्रीको भूमिका हिरोकै वरिपरी घुम्ने र रोमान्स गर्नेमै सिमित हुन्छ, तर यसमा स्वस्तिमा ‘लेडी हिरो’ को रुपमा प्रस्तुत भएकी छिन् । फिल्म उनीमै केन्द्रीत छ । फिल्ममा उनले निर्वाह गरेको पात्र ‘मधुवाला’ कै जीवनको उतारचढावमा फिल्म केन्द्रीत छ।

‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरूष’, ‘महाजात्रा’ जस्ता दर्शकको मन जित्न सफल ब्लकबष्टर फिल्म निर्माण गरेको षट्कोण आट्र्सले यसपटक नयाँ टिमसँग नयाँ कथा भन्ने प्रयास गरेको थियो, जसमा सफल भएको छ । आफ्नो हिट शृंखला ‘जात्र’ लाई थाती राखेर सामाजिक दायित्व बोकेको विषयलाई लिएर फिल्म निर्माण गर्दा पनि दर्शकले विश्वास गरेका छन् ।

दर्शक स–परिवार नै फिल्म हेर्न हलमा आइरहेका छन् । दर्शक जुन विश्वासका साथ हलमा प्रवेश गरेका छन्, निस्किँदा समय र पैसाको सदुपयोग भएको प्रतिक्रिया दिँदै सन्तुष्ट सुनिएका छन् । एक्लै फिल्म हेर्न आएकाले आफ्नो सन्तान वा अभिभावकलाई लिएर हल आएका छन् ।

षट्कोण आट्र्सले सामाजिक र पारिवारिक विषयमा फिल्म बनाउँदै आइरहेको छ । उक्त व्यानरका फिल्महरूको विषय गम्भीर भएता पनि प्रस्तुती सरल हुन्छन्, र एउटै परिवारका सबै पुस्ताले एकसाथ फिल्म हेर्न सक्छन् । सोही कारण हलमा परिवार नै दर्शक बनेर फिल्म हेरिरहेको भेटिने गरेका छन् ।

फिल्म ‘लालीबजार’ को ट्रेलर युट्युबको मुभी चार्टतर्फ नम्बर १ मा छ । यसले फिल्म प्रति दर्शकको चासो बढिरहेको र आगामी दिनमा अझैँ राम्रो व्यापार गर्ने सङ्केत गरेको छ । ट्रेलर सार्वजानिक भएको एक महिना लामो समय भएता पनि यसको ट्रेलर २२ लाख भ्यूजसहित नम्बर १ मा छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेका छन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १० : ३५ बजे