काठमाडौं । नेपाल सहकारी पत्रकार समाज मा आवद्ध सदस्य तथा उनीहरुका परिवारले काठमाडौं मेडिकल कलेज मा उपचार गर्दा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।
बुधबार भएको सम्झौताअनुसार सिजेएनका सदस्य र उनीहरुका परिवारलाई अस्पतालका विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा उपलब्ध गराइने भएको हो। अस्पतालले २०८३ असार ३० गतेसम्म ५० प्रतिशतसम्म छुट दिने जनाएको छ भने त्यसपछि विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट कायम रहनेछ।
सम्झौताअनुसार सामान्य बेड, आईसीयू, एचडीयू, सीसीयू, ओटी सेवा, ल्याब परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, यूएसजी, ईसीजी, एन्डोस्कोपी, फिजियोथेरापी तथा डेन्टल उपचारलगायत सेवामा छुट उपलब्ध हुनेछ। एन्जियोग्राम, एन्जियोप्लास्टी र न्यूरो इन्टरभेन्सन सेवामा पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यद्यपि स्टेन्ट, गाइड वायर, बेलुनलगायत उपभोग्य सामग्री तथा प्रत्यारोपण सेवामा भने छुट लागू नहुने अस्पतालले जनाएको छ।
सेवा लिन बिरामीले परिचयपत्र, नागरिकता वा आवश्यक कागजात पेश गर्नुपर्नेछ। १६ वर्षमुनिका बालबालिकाका लागि जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको छ।
सम्झौतापत्रमा केएमसीका तर्फबाट प्रशासनिक प्रबन्धक अर्चना थापा र जनसम्पर्क प्रमुख सुधा कट्टेल तथा सिजेएनका तर्फबाट अध्यक्ष अर्जुन खतिवडा र सचिव माधवकुमार खड्काले हस्ताक्षर गरेका छन्।








प्रतिक्रिया