Logo

मुख्य समाचार

सत्ती भन्सारद्वारा चोरी पैठारीका मालसामान खुला बोलकबोलबाट लिलाम बिक्री गरिँदै



काठमाडौं । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चोरी पैठारीको अभियोगमा बरामद भई कार्यालयमा दाखिला हुन आएका विभिन्न मुद्दाका मालवस्तुहरू खुला बोलकबोल (लिलाम बढाबढ) मार्फत बिक्री गर्ने भएको छ । भन्सार विभागले बुधवार एक सुचना जारी गर्दै आगामी जेठ २१ गते दिउँसो १ बजेदेखि साढे २ बजेसम्म कार्यालय परिसरमा सामानहरू लिलाम गर्न लागिएको जनाएको हो । भन्सार ऐन, २०८२ को दफा ९२(१) (ख) तथा भन्सार नियमावली, २०८३ को नियम ८५(२) बमोजिम ती सामानहरू ‘जस्तो अवस्थामा छन् सोही अवस्थामा’ प्रतिस्पर्धात्मक रूपमा लिलाम गरिनेछ ।

लिलाम हुन लागेका वस्तुहरू विभिन्न १० वटा मुद्दामा पक्राउ परेका मालसामानहरू हुन् । जसको कुल प्रारम्भिक न्यूनतम मूल्याङ्कन ३ लाख ७० हजार ४८० तोकिएकोा छ । लिलामीमा राखिएका मुख्य सामानहरूमा मुद्दा नं. ३४९ अन्तर्गतका पाउडर, गुलाब जल, लिपिस्टिक, विभिन्न क्रिम, ताल्चा र पंखाको बेस लगायतका कस्मेटिक तथा खुद्रा सामग्रीहरू रहेका छन् ।

यस्तै मुद्दा नं. ३६३ का विभिन्न मोडलका मोबाइल फोल्डर, केनभर डिस्प्ले र ब्याक प्यानलहरू, मुद्दा नं. ३७० का ८ पिस पानी तान्ने मोटर र १६ थान बोरिङ पाइप तथा मुद्दा नं. ३७३ का ६ थान पुराना १२ भोल्टका ब्याट्रीहरू पनि लिलाम गरिँदैछ । यसबाहेक लेडिज सुट, धोती, चप्पल, स्टील तथा प्लास्टिकका भाँडाकुँडाहरू र साइकल एवं अटोका ट्युबहरू पनि तपसिलमा समावेश छन् । 

भन्सार कार्यालयले लिलाम प्रक्रियालाई व्यवस्थित बनाउन केही अनिवार्य सर्तहरू समेत तोकेको छ । बोलकबोल प्रक्रियामा सहभागी भई सामान सकार गर्दा कबोल गरेको रकमको १० प्रतिशत बराबरको रकम तत्कालै नगद रूपमा कार्यालयमा दाखिला गर्नुपर्नेछ । व्यापारिक प्रयोजनका तथा मूल्य अभिवृद्धि कर लाग्ने मालवस्तुहरूको हकमा भ्याटमा दर्ता भएका व्यावसायिक फर्महरूले मात्र बोलकबोलमा भाग लिन पाउनेछन् ।
सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिको लिलाम स्वीकृत गरिने र सकारकर्ताले कबोल गरेको अंक र नियमानुसार लाग्ने भ्याटसहित सम्पूर्ण कर रकम ७ दिनभित्र बुझाएर मालसामान उठाई लैजानुपर्ने नियम बनाइएको छ ।

यसका साथै, प्रचलित कानुन अनुसार गुणस्तर परीक्षण गर्नुपर्ने मालवस्तुहरूको हकमा लिलाम सकारकर्ता आफैँले आफ्नै खर्चमा सम्बन्धित निकायबाट परीक्षण गराई उपभोग योग्य प्रमाणित भएपछि मात्र बिक्री वितरण वा उपभोग गर्न पाउनेछन् । निश्चित इजाजतपत्र चाहिने सामानहरू इजाजतवाला फर्मलाई मात्र लिलाम गरिनेछ । कार्यालयका निमित्त कार्यालय प्रमुखद्वारा प्रमाणित गरिएको यस प्रक्रियामा कसैको लिलाम स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार भने भन्सार कार्यालयमै सुरक्षित रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ११ : ४३ बजे