काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका विभिन्न तहमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन्।
पार्टी सभापति थापाले पार्टीका प्रत्येक तहमा सबै समुदायको सहभागिता सुनिश्चित गर्ने नीति अनुरूप लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पनि जिम्मेवारीमा ल्याउने चाहना रहेको बताएका हुन्।
मायाको पहिचान नेपाल र क्वयेर नेपालका प्रतिनिधिहरूसँग नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा भएको छलफलमा सभापति थापाले कांग्रेस यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई स्वागत गर्ने पार्टी भएको उल्लेख गरे। उनले समुदायका व्यक्तिहरू पार्टीका विभिन्न तहमा आएर सक्रिय भएमा समुदायसँग सम्बन्धित विषयलाई थप प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘पार्टीका विभिन्न तहमा आउनु भयो भने यो विषय सम्बोधन गर्ने कुरामा मद्दत पुग्छ,’ सभापति थापाले भने। उनले कांग्रेसभित्र यौनिक तथा लैङ्गिक अल्पसंख्यक विभाग गठन गर्ने मागबारे आफूहरू पनि गम्भीर रहेको जनाउँदै पार्टी छुट्टै विभाग गठन गर्न तयार रहेको बताए।
सभापति थापाले पछिल्लो समय पार्टीले गरेका कमजोरी सुधार गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सबै समुदायलाई पार्टी संरचनामा सहभागी गराउने नीति कांग्रेसले अघि सारेको बताए। उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई पार्टीका विभिन्न जिम्मेवारीमा राख्ने चाहना रहेको स्पष्ट पारे।
‘भूमिका श्रेष्ठ महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, केही समय हामीसँग काम पनि गर्नुभयो। त्यो बेला हाम्रो पनि कमजोरी भयो होला, जसरी ठाउँ दिँदै लिएर जानु पर्ने थियो, हामी कहीँ न कहीँ चुक्यौँ होला भन्ने लाग्छ मलाई,’ उनले भने, ‘हामीले तपाईँहरूको कम्युनिटीबाट पनि केही साथीहरूलाई पार्टीका विभिन्न जिम्मेवारीमा राख्न चाहन्छौँ, जसले गर्दा हामी जहाँ बसेर छलफल गर्छौँ, निर्णय गर्छौँ, त्यो आवाज त्यहीभित्र आओस् भन्ने चाहना रहन्छ।’
उनले पहिलो संविधानसभाको समयमा अल्पसंख्यक अधिकारका विषयमा पर्याप्त संवेदनशीलता र बुझाइ नभए पनि नेपाली कांग्रेसले त्यसलाई ग्रहण गर्दै संविधानमा समावेशी अधिकार सुनिश्चित गर्न भूमिका खेलेको बताए।
सभापति थापाले सुनिल बाबु पन्तको योगदानको समेत स्मरण गरे। संविधानको मौलिक हकसम्बन्धी विषयमा भएको बहसमा सुनिलबाबु पन्तले आफूहरूलाई धेरै विषयमा सचेत र शिक्षित बनाएको उनले बताए।
‘सुनिल बाबुले हामीलाई एजुकेट गर्नु भएको हो। यो विषय किन आवश्यक छ, अझ धेरै कुरा किन समेटिनुपर्छ भन्ने बहसहरू त्यो बेला भएका थिए,’ उनले भने, ‘संविधानमा जे जति कुरा समावेश भए, त्यहाँसम्म पु¥याउने काममा सुनिल बाबुको ठुलो भूमिका थियो।’
संविधानमा समावेश गरिएका मूल्य र अधिकारलाई कानुनमार्फत पूर्ण रूपमा कार्यान्वयन गर्ने विषयमा अपेक्षित गतिमा काम हुन नसकेको स्वीकार गर्दै सभापति थापाले समावेशिताको अर्थ आफैँमा निकै व्यापक र गम्भीर रहेको आफूले पछिल्लो समय थप महसुस गरेको बताए।
सभापति थापाले नेपाली कांग्रेसले पछिल्लो समय पार्टी विधानमै सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको बताए। अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वका लागि समेत विशेष स्थान राखिएको उल्लेख गर्दै उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका इच्छुक व्यक्तिहरूलाई पनि पार्टीका विभिन्न तहमा सहभागी हुन आग्रह गरे।
उनले नेपाली कांग्रेसलाई केवल एउटा सङ्गठनभन्दा पनि एउटा विचारको रूपमा बुझ्नुपर्ने धारणा राखे। ‘नेपाली कांग्रेसले सबै मानिस स्वतन्त्र छन् भन्ने कुरामा विश्वास गर्छ। सबैको समान अधिकार, समानता र समावेशितामा विश्वास गर्छ,’ उनले भने, ‘समाजभित्र सबैको आफ्नै स्पेस होस्, सबैको गरिमा सुरक्षित भए मात्र समाज शान्तिपूर्ण र प्रगतिशील बन्न सक्छ भन्ने विश्वास कांग्रेसले गर्छ।’
सभापति थापाले ‘समुन्नति’ र ‘समृद्धि’ फरक अवधारणा भएको उल्लेख गर्दै विकासका नाममा नागरिकको गरिमा र अधिकारलाई बेवास्ता गर्न नहुने बताए। उनले काठमाडौँका अव्यवस्थित बस्ती हटाएर शहर सफा बनाउनु मात्र समृद्धि हुन सक्ने तर त्यहाँ बस्ने मानिसहरूको अवस्था, विकल्प र अधिकार नहेरी गरिने विकासलाई समुन्नति भन्न नसकिने धारणा राखे।
‘सबैभन्दा ठुलो कुरा मान्छेको डिग्नीटीको कुरा हो, उसको अधिकारको कुरा हो,’ उनले भने, ‘हाम्रा पोलिसीहरुले र कामहरूले त्यही आधार पछ्याउनुपर्छ।’
सभापति थापाले नेपाली कांग्रेसको ऐतिहासिक राजनीतिक सङ्घर्ष स्मरण गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारका लागि पार्टीले लामो समय प्रतिबन्ध र दमन भोगेको बताए। नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला जेल जानुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले कांग्रेस अहिले पनि नागरिक स्वतन्त्रता र अधिकारको पक्षमा दृढ रहेको बताए।








प्रतिक्रिया