काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले कलेजहरूले विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसइई उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि अध्ययन गर्न आउने विद्यार्थीमाथि कलेजहरूले विभिन्न बहानामा अनेक किसिमका शुल्क लिने गरेको बताए । उनले यस्तो गतिविधिमाथि सरकारले निगरानी गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘भर्खरै मात्र एसइई बाट उत्तीर्ण विद्यार्थी अध्यनको शिलशिलामा ठूला ठूला सहरहरु पढन आउँछन् । अध्यनको शिलशिलामा अध्यन गर्न आउने ती विद्यार्थीहरुमाथि विभिन्न किसिमको शुल्कहरु लिएर कलेजहरुले उठाउने गर्छन् त्यसमा सरकारले ध्यानाकर्षण गराउन चाहन्छु । सरकारले यसमा निगरानी गर्नुपर्छ।’
त्यसैगरी, सांसद राईले किसानका समस्या पनि संसदमा उठाएका छन् । उनले अहिले किसानहरू बाली लगाउने तथा उत्पादन गर्ने समयमा रहेको उल्लेख गर्दै उत्पादनको बजार अभाव, मलजलको समस्या तथा उत्पादन व्यवस्थापनमा कठिनाइ रहेको बताए ।
उनले देशभरका किसान बाँदर आतंकका कारण समेत समस्यामा परेको उल्लेख गर्दै कृषकका समस्या समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने धारणा राखे ।
उनले भने, ‘यो सदनमा किसानका समस्या सुनाउँदै आइरहेका छौं । अहिले वर्तमान अवस्थामा किसानहरुले अहिले बाली लगाउने बेला उत्पादन गर्ने समय आएको छ । आम किसानहरुले देशैभरी उत्पादन छ बजार छैन । मलजलको व्यवस्था छैन । उत्पादन छ उत्पादनलाई सही ढंगले व्यवस्थित गर्नको निम्ती बाँदर आतंकले किसानहरु आतंकित छन् ।’
३१ बैशाख २०८३, बिहिबार
0
Shares







प्रतिक्रिया