Logo

शिक्षा

एसईई नतिजामा सुधार, ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । यससँगै नतिजामा ४.१७ प्रतिशतले सुधार आएको बोर्डले जनाएको छ ।

परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो ।

बोर्डका अनुसार, जीपीए ३.६ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ । त्यस्तै, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२, जीपीए २.८ देखि ३.२ सम्म ९४ हजार २२२, जीपीए २.४ देखि २.८ सम्म ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।

यस्तै, जीपीए २.० देखि २.४ सम्म ५ हजार १९० तथा जीपीए १.६ देखि २.० सम्म ७ विद्यार्थी ग्रेडेड भएका छन् ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशबाट ९८ हजार ८१७ विद्यार्थी ग्रेडेड भएका छन् । कोसी प्रदेशबाट ७२ हजार २५६, मधेस प्रदेशबाट ७६ हजार ३१७, गण्डकी प्रदेशबाट ३६ हजार ४९३, लुम्बिनी प्रदेशबाट ७२ हजार १४९, कर्णाली प्रदेशबाट ३२ हजार ३३६ तथा सुदूरपश्चिम प्रदेशबाट ४२ हजार २९९ विद्यार्थी ग्रेडेड भएका छन् ।

ननग्रेडेड विद्यार्थीमध्ये सबैभन्दा बढी मधेस प्रदेशका ३१ हजार ७२५ विद्यार्थी रहेका छन् । कोसी प्रदेशमा २१ हजार ३६६, वाग्मतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ तथा सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी ननग्रेडेड भएका छन् ।

बोर्डले एसईईको पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा असार ९ गतेसम्म चल्नेछ । अन्तिम ग्रेड ‘सी’ वा सोभन्दा कम प्राप्त गरेका तथा बढीमा दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १० : ४५ बजे