बढैयाताल । बर्दियाको पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण क्षेत्र बढैयातालमा प्रथम बढैयाताल कृषि पर्यटन, सांस्कृतिक तथा व्यापारिक सन्ध्याकालिन मेला २०८३ सञ्चालन हुने भएको छ ।
थारु पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनामा यही जेठ १ गतेदेखि ११ गतेसम्म ‘कृषि पर्यटन व्यापार, बढैयाताल संरक्षण गर्ने हाम्रो मूल आधार’ भन्ने मूल नाराका साथ ११ दिने मेला आयोजना गर्न लागिएको हो ।
बदैयातालमा आयोजित पत्रकार सम्मेलनमा थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष जागेश्वर सिंह थारुले बढैयाताल क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा यहाँको कृषि, पर्यटन र सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए ।
‘बढैयाताल बर्दिया जिल्लाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य मात्र नभई जैविक विविधताले भरिएको क्षेत्र पनि भएकाले यसको संरक्षण र दिगो उपयोगमा स्थानीय समुदायको सहभागिता आवश्यक छ,’ उनले भने ।
उनका अनुसार मेलाले स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म पु¥याउन सहयोग गर्ने, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने तथा स्थानीय उत्पादनको बजारीकरणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
‘बढैयाताल क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न मेला महत्वपूर्ण माध्यम बन्नेछ,’अध्यक्ष थारुले भने,‘मेलाले स्थानीय होटल व्यवसाय, यातायात, कृषि तथा साना व्यापार व्यवसायलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।’
आयोजक संस्थाले मेलाबाट प्राप्त आम्दानी पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न उपयोग गरिने जनाएको छ ।
मेला मूल आयोजक समितिका व्यवस्थापक विक्रम क्षेत्रीले मेलामा करिब ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
मेलाको सञ्चालन तथा व्यवस्थापनका लागि करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । व्यवस्थापक क्षेत्रीका अनुसार मेलामा कृषि प्रदर्शनी, व्यापारिक स्टल, स्थानीय उत्पादन बिक्री तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछन् ।
मेलाका सांस्कृतिक संयोजक गोपाल गुप्ताका अनुसार सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ । गुप्ताले ज्येष्ठ नागरिकका लागि प्रवेश शुल्क निःशुल्क रहने व्यवस्था गरिएको समेत बताए ।
मेला अवधिभर सुरक्षालाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ । व्यवस्थापन पक्षका अनुसार बढैयाताल क्षेत्र तथा मेला परिसरको सुरक्षाका लागि स्थानीय प्रशासन, सेक्युरिटी गार्ड तथा ड्रोन क्यामराबाट निगरानी गरिनेछ । आयोजकले मेलालाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।








प्रतिक्रिया