Logo

मुख्य समाचार

१३२ केभी प्रशारण लाइनका पोल ढलेपछि कर्णाली अन्धकार



सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनमा पोल ढले पछि कर्णालीका सबै जिल्लाहरुमा विद्युत प्रशारण बन्द भएको छ ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएको तीन महिना नबित्दै सुर्खेत–कोहलपुर १३२ कभी प्रशारण लाईनका दुई पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयका अनुसार प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानीमा २ वटा विद्युत् टावर ढलेका हुन् ।

केही दिन अगाडि चलेको हावाहुरीले रुख ढलेर विद्युत पोलमा परेका थिए शनिबार ति टावरहरु ढलेपछि विद्युत अवरुद्ध भएको छ । लामो समयको प्रतिक्षा पछि तीन महिना अघि मात्र १३२ केभी प्रशारण लाईन सञ्चालन भएको थियो ।

निर्माण सम्पन्न भएको तीन महिनामै पोल ढल्नु संरचना निर्माणमा कमसल सामग्री प्रयोग भएको भन्दै आलोचना भईरहेको छ । सुर्खेतका व्यवसायी चिन्तामणी शर्माले निर्माण सम्पन्न भएको यति छोटो समयमा पोल ढल्नु कमसल सामग्री प्रयोग भएको सहजै अनुमान लगाउन सकिने भन्दै निर्माण कम्पनीलाई छानविन गरी कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ८ : ३२ बजे