काठमाडौं । भारतको कोलकाताको ‘रेड लाइट एरिया’ सोनागाछीबाट भागेका दुई जना नेपाली बालिकको उद्धार गरि काठमाडौं ल्याइएको छ ।
दिल्लीस्थित नेपाली दूतावासले भारतको प्रशासन तथा सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरूलाई ओडिसाको राजधानी भुवनेश्वरबाट उद्धार गरिएको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।
‘१४–१५ बर्षका उनीहरु नुवाकोट जिल्लाका हुन् । उनीहरुलाई शुक्रबार काठमाडौंस्थित महिला, वालवालिका तथा ज्येष्ठ मन्त्रालय, वाल अधिकार परिषद, नेपाल प्रहरी मानव वेचविखन अनुसन्धान परिषदलगायतका निकायहरुको उपस्थितिमा नेपाल सरकारलाई जिम्मा लगाएका छौं,’ जोशीले भने ।
उनीहरुका विषयमा थप अनुसन्धान गर्ने, पालनपोषण गर्ने साथै उनीहरुको भविष्यका लागि आवश्यक समन्वयन गर्ने विषयामा पनि छलफल भएको जोशीले बताए ।
दिल्लीस्थित नेपाली दूतावासको अनुरोधमा ’किन इन्डिया’को टोली ओडिसाको राजधानी भुवनेश्वर पुगेर दुई जना नेपाली बालिकालाई बिहीबार राति नेपाल ल्याइ ल्याइएको हो ।
जोशीका अनुसार भारतमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई उद्धार गरी ल्याइएको हो । ‘दुवै जना मानसिक र शारीरिक रूपमा कमजोर छन् । उनीहरूको स्वास्थ्य परीक्षण र आराम चाहिएको छ,’ जोशीले भने ।








प्रतिक्रिया