काठमाडौं— रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन्। आइतबार काठमाडौंमा निजी क्षेत्रका प्रमुख संस्थासँगको छलफलमा उनले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सशंकित नहुन आग्रह गरेका हुन्।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरू सहभागी थिए।
लामिछानेले निजी क्षेत्र भयभीत देखिएको भन्दै त्यसलाई स्पष्ट पार्न आफूले प्रत्यक्ष संवाद गरेको बताए। उनले सरकार व्यवसायीलाई दुःख दिन नचाहने उल्लेख गर्दै सुशासन र आर्थिक वृद्धिको दिशामा अघि बढ्दा केही असहज अवस्था आउन सक्ने बताए।
उनका अनुसार केही व्यवसायीले अर्थतन्त्रमा अस्वाभाविक नियन्त्रण जमाउन खोजेकाले सरकार कडाइका साथ अघि बढ्नुपरेको हो। पछिल्लो समय सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी मुद्दामा केही व्यवसायी पक्राउ परिरहेका छन्, जसप्रति निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको छ।
लामिछानेले निजी क्षेत्रका समस्या समाधानका लागि ‘रोडम्याप’ तयार भइसकेको दाबी गर्दै व्यवसायीले व्यक्तिगत रूपमा नेताहरू धाउन नपर्ने बताए। साथै, सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने र जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति रहेको स्पष्ट पारे।
कार्यक्रममा चन्द्र ढकालले निजी क्षेत्रमाथि आन्दोलनका बेला बारम्बार दबाब पर्ने गरेको भन्दै सहज वातावरणको माग गरे। त्यस्तै वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक रहेको बताए भने दीपक मल्होत्राले वर्तमान सरकारसँग आर्थिक सुधारको उच्च अपेक्षा रहेको धारणा राखे।
छलफलमा विभिन्न उद्योगी–व्यवसायीको उपस्थिति रहेको थियो।








प्रतिक्रिया