Logo

मुख्य समाचार

कोहलपुरका किसानलाई नि:शुल्क बाली उपचार शिविर


१८ बैशाख २०८३, शुक्रबार  

115
Shares

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले कृषकलाई लक्षित गर्दै नि:शुल्क बाली उपचार शिविर सञ्चालन गरेको छ । उक्त निःशुल्क बाली उपचार शिविर प्रभावकारी किसानका लागी प्रभावकारी बन्दै गएको छ । 

नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडामा पुगेर किसानकै खेतबारी नजिक सेवा उपलब्ध गराउँदै आएको हुनाले उक्त शिविर प्रभावकारी बन्दै गएको शाखाले जनाएको छ ।

कृषि विकास शाखा प्रमुख कल्पना नेपालीका अनुसार शिविरमार्फत बालीमा देखिएका रोग तथा कीराको पहिचान गरी तत्काल उपचारसँगै आवश्यक परामर्श प्रदान गरिएको छ । जैविक तरिकाबाट बाली संरक्षण गर्ने र विषादीको अव्यवस्थित प्रयोगलाई नियन्त्रण गर्ने विषयमा समेत किसानलाई सचेत बनाइएको छ ।

शिविरमा किसानहरूले आफ्ना बालीका नमुना ल्याई परीक्षण गराउने, समस्या राख्ने र समाधान पाउने अवसर पाएका छन् । यसले अनुसन्धान र किसानबिचको सम्बन्ध मजबुत बनाउनुका साथै उत्पादनमा हुने क्षति घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
‘चालु आर्थिक वर्षको कार्यक्रमअनुसार हालसम्म वडा नम्बर १५ र १४ मा शिविर सञ्चालन गरिएको छ । ती शिविरबाट क्रमशः करिब एक सय र ४० भन्दा बढी किसान लाभान्वित भएका छन् ।’

कृषि विकास शाखाकी प्राविधिक सहायक कालिका आचार्यले भने, ‘आर्थिक रूपमा कमजोर किसानलाई लक्षित गरी घर नजिकै सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। यसबाट धेरै किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।’

शिविरमा बाली संरक्षण प्रयोगशाला खजुराका विज्ञसहित प्राविधिक टोलीले विभिन्न बालीका नमुना परीक्षण गरेका थिए । कृषि शाखाले वार्षिक योजनाअनुसार यस्ता किसानमैत्री कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ । 

साथै आगामी वैशाख २१ र २२ गते नगरपालिका परिसरमा माटो परीक्षण शिविर सञ्चालन गर्ने तयारी पनि गरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  २ : २६ बजे