काठमाडौं । उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरीले नेपालमा जित–हारको राजनीति अन्त्य गरी सबैलाई समेट्ने सहकार्यको राजनीति आवश्यक रहेको बताएका छन्।
आइतबार न्यूज एक्सप्रेसले आयोजना गरेको ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले संविधानले परिकल्पना गरेको समन्वय, सहकार्य र सहअस्तित्वको मर्म बुझेर अघि बढे मात्र देश विकासले गति लिने बताए ।
उनले भने, ‘हामीसँग तीन तहका सरकार छन्, जसमा हाम्रो संविधानले समन्वय, सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको छ । यही मर्म बुझेर संविधानको रक्षार्थ काम गर्दा देश विकासमा टेवा पुग्नेछ ।’
चौधरीले नेपालमा अरूको भूमिकामा बढी चासो दिने तर आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने प्रवृत्तिका कारण अपेक्षित परिणाम आउन नसकेको टिप्पणी गरे। पत्रकारितालाई संविधानले दिएको स्वतन्त्रताको सदुपयोग गर्दै जनताको आवाज बुलन्द गर्नुपर्ने उनले बताए।
उनले भने, ‘हाम्रो संविधानले पत्रकारितालाई स्वतन्त्रता दिएको छ । त्यो स्वतन्त्रताभित्र रहेर पत्रकारिता गर्नेहरूले पूर्ण रूपमा स्वतन्त्र भएर जनताको आवाज उठाउन सके पक्कै पनि गन्तव्यमा पुग्न सक्छौं ।’
देशको वर्तमान समस्या समाधानका लागि सत्ता पक्ष, प्रतिपक्ष र सडकमा रहेका सबै पक्षलाई एउटै टेबलमा ल्याएर साझा खाका तयार गर्नुपर्ने उनको भनाइ थियो ।
‘नेपालमा यो जित्ने खेल हटाउनुपर्यो र समेट्ने खेल गर्नुपर्यो । जितेर हामी प्रत्येकचोटी गएको छौं, फेरि जितहारमा परिणत हुन्छ। त्यसैले सबैलाई समेट्न यस्तो संवाद एक्सप्रेस आवश्यक छ,’ उनले भने।








प्रतिक्रिया