काठमाडौं । सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले नेपाललाई विश्वसामु चिनाउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार घोषणा एवं भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उनले नेपालको प्राकृतिक सुन्दरतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन फोटो पत्रकारहरूले ठूलो योगदान पुर्याउने उल्लेख गरे ।
उनले भने, ‘नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् । सिर्जनात्मक फोटोलाई संरक्षण र प्रवर्द्धन गर्न सके देशलाई आर्थिक रूपमा समेत समृद्ध बनाउन सकिन्छ ।’
पराजुलीले इतिहास लेखनमा पनि फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताए । ‘हामीले लेख्ने इतिहास पनि फोटोको आधारमा तयार हुन्छ । आगामी पुस्तालाई विगतको नेपाल कस्तो थियो भन्ने जानकारी दिन फोटोहरूले महत्वपूर्ण योगदान पुर्याउँछन्,’ उनले भने ।
उनले फोटो पत्रकारलाई ‘फोटो बैंक’ को संज्ञा दिँदै यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न आवश्यक रहेको धारणा राखे । ‘जसरी बैंकमा पैसा राखेर संस्था धनी बन्छ, त्यसैगरी फोटो पत्रकारसँग भएका तस्वीरहरू अझ मूल्यवान् हुन्छन् । राष्ट्रिय फोटो पत्रकार समूहलाई फोटो बैंकको रूपमा विकास गर्नुपर्छ,’ उनले भने ।
उनले देशभर रहेका फोटो सङ्ग्रहालयहरूलाई व्यवस्थित गरी बैंकको रूपमा सञ्चालन गर्न सकिने सुझाव दिए । त्यहाँबाट निश्चित शुल्क लिएर फोटो प्रयोग गर्ने व्यवस्था मिलाउन सके संस्थाहरू आर्थिक रूपमा सबल बन्न सक्ने बताए ।
उनले भने, ‘हामीसँग भएका सबै फोटो सङ्ग्रहालयहरूलाईं बैंकको रुपमा राख्नुपर्छ । त्यहाँबाट फोटोहरु निश्चित शुल्क तिरेर प्रयोग गर्यौं भने संस्था पनि धनि हुन्छ ।’
१३ बैशाख २०८३, आइतबार
115
Shares







प्रतिक्रिया