काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले केरा उत्पादक किसानसँग भेतवार्ता गरेकी छन् ।
मन्त्री चौधरीले किसानसँगको भेटवार्तामा केरा उत्पादन, बजारीकरण, मल आपूर्ति लगायत विषयमा छलफल भएको हो ।
मन्त्री चौधरीले किसान टिक्न सके मात्र कृषि क्षेत्र टिक्ने उल्लेख गर्दै बीमा, उत्पादन र बजार व्यवस्थापनमा समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री चौधरीका अनुसार नेपालमा उत्पादन हुने कृषि उपजलाई प्राथमिकता दिनु आवश्यक छ भने आपूर्ति व्यवस्थामा पारदर्शिता कायम गर्नुपर्ने उनले बताइन् ।
विश्व बजारमा रासायनिक मलको अभाव देखिए पनि सरकारले यसको सहज आपूर्तिका लागि पहल गरिरहेको मन्त्री चौधरीले जानकारी दिइन् ।
‘अभावको बहानामा मूल्य वृद्धि गर्नु वैधानिक होइन, कालोबजारी नियन्त्रणमा सबैको सहयोग आवश्यक छ,’ मन्त्री चौधरीले भनिन् ।
मन्त्रीले कृषि उत्पादनसँगै बजारीकरणमा पनि सरकारले सहजीकरण गरिरहेको स्पष्ट पारिन् ।
उपभोक्तालाई मार पर्ने गरी मूल्य वृद्धि नहुने गरी किसानले उत्पादन र आपूर्तिमा ध्यान दिनुपर्ने बताएकी छिन् ।
सो भेटघाटमा किसानहरूले बीमा, मल आपूर्ति, बजारीकरण र नीतिगत समस्याबारे गुनासा राखेका थिए । किसानहरूले बीमा भुक्तानीमा ढिलाइ, प्रिमियम तिरे पनि क्षतिपूर्ति नपाएको, प्राकृतिक विपत्तिबाट भएको क्षतिको राहत नपाएको जस्ता समस्या उठाएका थिए ।
केरा खेतीमा संलग्न किसानहरूले सीमामा कडाइ, मल अभाव र बजार मूल्यमा अस्थिरताका कारण समस्या भोग्नु परेको बताएका छन् । केही किसानले केरा उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य भएपनि आवश्यक प्रविधि, मल र नीति सहयोग अभाव रहेको उल्लेख गरे ।
कैलालीका किसान दीपेन्द्र थारुले किसानले लगानी गरे पनि उचित प्रतिफल नपाएको गुनासो गरे । ‘किसान सधैं पीडित किन हुनेरु आपूर्ति कमी हुँदा पनि किसान नै दोषी देखाइन्छ,’ थारुले भने ।
चितवनका जनक राज पन्तले जग्गा व्यवस्थापन र नदी किनार क्षेत्रमा खेती प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए । बाराका किसानहरूले कृषि क्षेत्रमा युवा पुस्ता आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा किसानहरूले ५० लाख रुपैयाँसम्मको लगानीमा ८० प्रतिशत बीमा सुविधा भए पनि भुक्तानी प्रक्रिया प्रभावकारी नभएको गुनासो गरेका थिए । एक वर्ष बित्दा पनि बीमा दाबी भुक्तानी नहुने समस्या रहेको उनीहरूले बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले बीमा प्रक्रियालाई सहज बनाउन पहल भइरहेको जानकारी दिए ।
ज्ञान केन्द्रबाट सिफारिसमा ढिलाइ हुँदा क्षतिपूर्ति वितरण प्रभावित भएको उनले बताए ।
उनले मल आपूर्ति बढाउने, उत्पादन सुधार गर्ने तथा तथ्यांक अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याए । ‘मलमा कोटा प्रणालीभन्दा आपूर्ति बढाउनेतर्फ ध्यान दिन्छौं,’ उनले भने ।








प्रतिक्रिया