काठमाडौं — नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ। पदमा रहँदा अनुसन्धान प्रक्रियामा प्रभाव पर्न सक्ने आशंका व्यक्त गर्दै कांग्रेसले निष्पक्ष छानबिन सुनिश्चित गर्न उनको पदत्याग आवश्यक भएको जनाएको हो।
पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा अनुसन्धानलाई प्रभावरहित बनाउन आवश्यक वातावरण सिर्जना गर्न सरकारसँग माग गरिएको छ। कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका सार्वजनिक प्रश्नहरूलाई गम्भीर रूपमा लिनुपर्ने निर्णय यसअघि नै गरिसकेको पनि उल्लेख गरिएको छ।
विज्ञप्तिमा पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै सम्बन्धित आरोपहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको बताइएको छ। साथै, गृहमन्त्रीसँग सम्बन्धित सबै आरोपमाथि स्वतन्त्र र उच्चस्तरीय अनुसन्धान तुरुन्त सुरु गर्न सरकारसँग आग्रह गरिएको छ।
कांग्रेसले ढिलासुस्ती, प्रभाव वा ढाकछोप गर्ने कुनै पनि प्रयासले सुशासन र जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।
गृहमन्त्री गुरुङमाथि विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेको छ। साथै, जनेजी आन्दोलनपछि उनले करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको र सार्वजनिक सम्पत्ति विवरणमा उक्त सेयर नदेखाएको विषय बाहिरिएपछि उनी विवादमा परेका छन्।








प्रतिक्रिया