Logo

Breaking News 1

शीतल निवासको शपथग्रहण : सुरक्षा, भीडभाड र पत्रकारको ‘धक्का–मुक्की महोत्सव’



कार्यक्रम ३ बजेको भनिएको थियो, तर शीतल निवासको दक्षिण–पूर्वतर्फको गेटमा अहिले २ बजेदेखिनै फोटो–भिडियो पत्रकारहरूको चहलपहल सुरु भइसकेको छ । सेतो दौरा–सुरुवाल र कालो कोट–टोपी लगाएका सुरक्षाकर्मीहरू आ–आफ्नो आदेशअनुसार जिम्मेवारी पूरा गर्न व्यस्त छन् । कोही पत्रकारको नाम र सूची रुजु गर्दैछन्, कोही ‘उता जानुहोस्, यता जानुहोस्’ भन्दै सोधिरहेका देखिन्छन् अनि ‘हजुर कुन मिडियाबाट ? शुभ नाम ?’ आदि इत्यादि, मानौं मुख्य कायक्रम सुरु हुनु अघि नै ‘व्यवस्थापनको ट्रायल शो’ चलिरहेको छ ।

आफ्नो नाम सूचीमा भेट्नेहरू दंग परेर सेक्युरिटी चेकको लाइनमा लाग्छन्, नभेटिनेहरू भने यताउता फोन घुमाउन थाल्छन्। नाम भेटिएपछि ठूलो युद्ध जितेको अनुभव हुने रहेछ, मेरो नाम पनि सूचीमा भेटिएपछि म दंग परेर मेटल डिटेक्टरको लाइनमा लागिहालें। मेसिनको एक छेउबाट छिरेर अर्को छेउबाट निस्कनु एक किसिमको बाल्यकालको लुकामारी खेल जस्तो पनि लाग्ने। क्यामेरा र मोबाइल एउटा टोकरीमा, ट्राइपोड (फोटोग्राफरको तीन खुट्टे साथी) साइडको टेबलमा राखेर मेसिन पार गरें ।

‘टाटा–टुटु’आवाज आयो, तर के भयो आफूले बुझ्ने कुरै भएन, बुझिनँ। साइडमा राखेको क्यामेरा, ट्राइपोड र मोबाइल उठाएँ। चाख लाग्दो कुरा त के छ भने, मान्छेलाई मात्र मेसिनमा छिराएर सुरक्षा कडा हुन्छ र? क्यामेरा वा ट्राइपोडकै आकार–प्रकारमा हतियार वा विस्फोटक पदार्थ हुन सक्दैन र? सबै चेक जाँचहरू औपचारिकता ज्यादा, प्रोटोकल कम लाग्दथ्यो जो कोहीलाई पनि ।

आजको एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा पनि हाम्रा सुरक्षाकर्मीहरू खोतल्ने, सुँघ्ने, छाम्ने र हल्लाएर हेर्ने पुरानै प्रविधिमै विश्वास राख्छन्। ‘नहुन्जेल केही हुँदैन, भगवान भरोसा’भन्ने भाग्यवादमा कहिलेसम्म अडिने? राष्ट्रप्रमुखजस्तो उच्च पदाधिकारीको सुरक्षामा अपनाइने विधि यति फितलो र कमजोर छ भने बाँकी सबै कुरा त झन् भगवान भरोसा नै भन्नुपर्छ । एउटा सामानहरू पनि जाँच गर्न मिल्ने राम्रो स्क्यानर किन्न कति खर्च लाग्छ होला? नचाहिने कुरामा पैसा खर्च गर्ने गरेको हामीले देखेकै छौँ । मेरो मानसपटलमा यस्तै अनेकौँ तर्क–वितर्क खेल्दा खेल्दै गर्दा ‘ल, तपाईंहरू मेरो पछिपछि लाइनमा आउनुहोस् है, बीचमा फोटो–भिडियो नखिच्नुहोला’, भन्ने सुरक्षाकर्मीको आदेशअनुसार सबै सञ्चारकर्मीहरू पछि पछि लाग्यौँ ।

पत्रकारहरूलाई गेटबाट कार्यक्रम स्थलसम्म लैजाँदा अगाडि एकजना र पछाडि एकजना कालोकोटे सुरक्षाकर्मी हुन्छन् । कार्यक्रम सकिएपछि पनि गेटसम्म ल्याएर छाड्ने जिम्मेवारी यिनैको हुन्छ । ‘ल, बीचमा ग्याप धेरै भयो’ , भन्दै सुरक्षाकर्मीले कराए । ‘यी भाइहरू आज नयाँ परेजस्तो छ है, हजुर!’ ‘आफू त नारायणहिटीदेखि माओवादी विद्रोहसम्म लाइन लाग्न भ्याइसकेको मान्छे हो हजुर ,’ भनेर मैले प्याच्च बोली हालेँ । उनले सुने कि सुनेनन्, प्रतिक्रिया आएन ।

मेरो यस्तो प्याच्च बोल्ने बानीले कतिपय ठाउँमा राम्रै काम पनि गरेको छ । एकपटक पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्रीको हैसियतमा विदेशबाट फर्किएर एयरपोर्टको विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्न लाग्दा सुरक्षाकर्मीले झ्याल पनि खोल्न नदिने, अनि प्रधानमन्त्री बस्ने सोफा टेबलभन्दा होचो र पुरानो हुँदा, मैले पत्रकारकै भीडबाट भीडमै भनिदिएँ – ‘प्रधानमन्त्रीज्यू, यो सोफा पुरानो र होचो भयो, झ्याल पनि खोल्न पाए हुन्थ्यो । अँध्यारोमा पत्रकार सम्मेलन कसरी गर्ने ?’ प्रचण्डले ‘तपाईंले ठिकै भन्नुभयो’ भने। पछि त्यो आवाजले सुधार पनि गरायो । धेरै ठाउँमा मूलतः समस्या भन्दा पनि इच्छा–शक्ति र जवाफदेहितामा अड्किएको जस्तो लाग्छ ।

शीतल निवासको मुख्य भवन पुग्नै लाग्दा दायाँपट्टि एउटा पुरानो खण्डहर जस्तो भुइँतले कोठा देखिन्छ, जहाँ प्रायः पत्रकारलाई भेला गराइन्छ र कार्यक्रम सुरु हुनुभन्दा केहीबेर अगाडि मात्र कार्यक्रम स्थलतिर लैजाने चलन छ । तर आज भने सिधै कार्यक्रम स्थलतिरै ‘लेफ्ट–राइट’गराइयो। ‘आज भोला नराख्ने?’ साथीहरू बीचमा बोल्दै थिए। क्यामेराको झोला र ट्राइपोडको खोलले धेरै ठाउँ ओगट्ने भएकाले प्रायः त्यही खण्डहर कोठामै छाडिन्थ्यो तर आज सभामुख डिपी अर्यालको शपथग्रहण बाहिरै टेन्टमा हुने भएकाले पनि सिधै ‘लेफ्ट–राइट’गराइएको हुनसक्छ भन्ने मेरो अनुमान रह्यो ।

कार्यक्रम स्थल पुगेपछि अर्को विचित्र दृश्य सुरु भयो । ‘ल, यहींबाट खिच्नुहोस् है, हल्लाखल्ला नगरी । यो भीआइपीको बाटो हो,’ भन्दै सुरक्षाकर्मीले आफ्ना भारी भुइँमा बिसाएर छेउमै पहरा दिएर बसे । ‘मिल्छ भने उ त्यहाँबाट पनि खिच्न मिल्छ है, बरु एकपटक हेरेर आउनुहोस् । चार–पाँच जना त अट्छन् होला,’ भन्दै अर्को कुनातिर देखाउँदै थिइन – सारी र कोटमा सजिएकी एक महिला, सायद शीतल निवासकी कर्मचारी थिइन् होला ।

आज अलि ढिलोगरी आइपुगेका कान्तिपुर टेलिभिजनका वरिष्ठ क्यामेराम्यान मुरारी घिमिरे पत्रकारहरूकै छेउमा ट्राइपोड राख्न मात्रै के लागेका थिए – सुरक्षाकर्मीले ‘यहाँ राख्न मिल्दैन’भनेपछि उनी एकछिन जंगिए – ‘बरु नखिच भन्नुहोस्, म फर्किन्छु।’; पछि सुरक्षाकर्मी शान्त भएपछि जसोतसो खिचे, बाहिर भने गएनन् । मैंले आज किन ढिलो आएको भनेर सोध्दा – सँधै गाडी सहित आउने सञ्चारकर्मीलाई मुख्य गेटको उत्तर–पूर्वतर्फबाट भित्र पठाइन्थ्यो, तर आज उनीहरूबीच समन्वय नहुँदा पहिलो गेटबाट दोस्रो, दोस्रोबाट फेरि पहिलो गेट गर्दा गर्दै ढिलो भएको रहेछ ।

सुरक्षाकर्मीको हातमा सञ्चारकर्मीहरूको सूची त हुन्छ, तर ती मान्छेलाई कहाँ राख्ने? क्षेत्रफल कति चाहिने हो, पुग्छ, पुग्दैन ? कस्तो प्याराफिट चाहिने हो? एउटाले अर्कोलाई नछेक्नेगरी कसरी बनाउने ? यी आधारभूत कुरामा ध्यान नदिँदा समस्या झन् बढ्छ । पत्रकारहरू मात्र होइन, आज माननीयहरू पनि अगाडिको लाइनमा बस्ने भाग्यमानीले बाहेक सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिको अनुहार राम्रोसँग देख्न पाएनन् होला । किनकि स्टेजको बनावट नै त्यस्तै – टेन्ट गाडिदियो, कुर्सी लाइनमा राखिदियो, काम तमाम, खेल खत्तम ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिसँगै शपथग्रहण सुरु हुन के लागेको थियो, मिडियाकर्मीहरूको धकेला–धकेलः ‘ओइ, हल्लियो !’ कोही ट्राइपोडको प्वालबाट लेन्स छिराउँदै, कोही मेरो काँधमा दुईवटा ठूला लेन्सले धाप मार्दै थिए भने कोही त मेरो टाउकोमाथि क्यामेरा राखेर सपोर्ट लिएर खिच्न थाले । त्यो बेला दायाँ–बायाँ हेर्न थाल्यो भने मुख्य कार्यक्रम चैट हुने डर, सहनुको विकल्प थिएन । यसलाई पत्रकारहरूको धक्का–मुक्की महोत्सव नाम दिँदा अतिशयोक्ति होला । व्यवस्थापन पक्ष गतिलो नहुँदा नेपालका प्रायः समारोहहरू उल्लास कम, हल्लाखल्ला ज्यादा , अशोभनीय, अमर्यादित अशिष्ट, भद्दा र अनुशासनहीन देखिन्छन् ।

जसोतसो सभामुखको शपथग्रहण सकियो । राम्रो सट खिच्न पाउनेहरू दंग भए भने नपाउनेहरू कालो मुख लगाउँदै एक–अर्कालाई दोषारोपण गर्न थाले । श्रव्य–दृश्यको मेरुदण्ड भनेकै स्पष्ट दृश्य र स्पष्ट आवाजः आँखाले स्पष्ट देख्न पाउनु, कानले स्पष्ट सुन्न पाउनु हो र यो आम दर्शक–स्रोताको अधिकार पनि हो। एकपटक कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा म, सुदर्शन चित्रकार, प्रकाश श्रेष्ठ लगायतले यस्तो भद्रगोल अवस्थालाई न्यूनिकरण र व्यवस्थित गर्न सल्लाह–सुझाव दिएका थियौँ । तर ‘सक्दो प्रयास गर्छौँ’भन्ने वचन र मुन्टो हलाउने बाहेक केही परिवर्तन आएन । कार्यक्रम आयोजकहरू सुरु र अन्त्यपछि आफूले ठूलो सफलता हासिल गरेको ठान्छन्, तर व्यवस्थापन पक्षप्रति आवश्यक ध्यान नदिँदा कार्यक्रमको गुणस्तर तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय छवि ओझेलमा पर्न सक्ने जोखिमबारे उनीहरू सचेत नदेखिनु खेदजनक ।

यस्ता दृश्यहरू केवल शीतल निवासमा मात्र सीमित छैन। विदेशी विशिष्ट पाहुनाको पहिलो पाइला टेक्ने ठाउँ भनेकै एयरपोर्ट हो । एयरपोर्ट उत्रिने बित्तिकै नै अव्यवस्थाको स्पष्ट झल्को देखिन सुरु हुन्छ । त्यही एयरपोर्टमा सञ्चारकर्मीका लागि व्यवस्थित प्याराफिट नहुँदा धकेलाधकेल, चिच्याहट र हल्लाखल्ला देख्दा उनीहरूको मनमा नेपाल प्रति कस्तो धारणा बन्छ होला ?

सञ्चारकर्मीहरू पनि मौका मिल्ने बित्तिकै क्यामेरा–माइक तेस्र्याउँदै ‘हल्लो–ओइ!’ गर्दै लखेट्न थाल्छन्, उनीहरूलाई बोल्न मन लागोस् नलागोस्, टाढासम्म पछ्याउन छाड्दैनन्। अझ ऋषि धमला भए त क्यामेराम्यान जहाँ सुकै होऊन्, बुम–माइक र केवल लतार्दै पाहुनातिर जाइलागिहाल्छन ्। एकपटक गोदावरी भिलेज रिसोर्टमा सरकार–माओवादी दोस्रो शान्ति वार्ताका क्रममा उनी माइक र केवल तान्दै पाहुनातिर दौडिए । धन्न, मैले क्यामेराबाट केवल छुट्याएर जोगाएको थिएँ । तर क्यामेरा बिनाको माइकले उनले अन्तरवार्ता लिइसकेछन; अनुहार र आवाज रेकर्ड गर्ने क्यामेरा भने मेरो हातमै थियो ।

भीआइपी आएर बोल्न मन लागे आफ्नो कुरा राख्ने पोडियम र सञ्चारकर्मीलाई निश्चित दूरीसहितको प्याराफिटमा राख्न सके मात्र पनि नेपाल भित्रिने बित्तिकै मिडियाकर्मीको अनुशासन र राज्य प्रति सकारात्मक धारणा बन्ने थिया े। केही हदसम्म नेपाली सेनाले नेपाली मिडियाका लागि भनेर एयरपोर्टको छेउमै एउटा फलामे प्याराफिट राखेको छ । तर त्यो माथि चढेर खिच्दा ‘चह चह हुई’गर्दै भिडभाडमा पिङ खेले बराबर हुन्छ । त्यस्तो प्याराफिट राख्दा स्थायी रूपमा राख्नु पनि पर्दैन; चाहिएको बेला राख्ने, नचाहिँदा हटाउन मिल्ने गरी अस्थायी तर बलियो बनाइदिए पुग्थ्यो । नभए, यो विषयका जानकार वास्तविक विज्ञहरुको सल्लाह सझुाव लिँदा राज्यको के नै बिग्रिन्थ्यो होला र !

संसद, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, शीतल निवास, एयरपोर्ट जस्ता गरिमामय स्थानमा मिडियाकर्मी र विशिष्ट व्यक्तिहरू बीच दूरी कायम राख्दै समाचार संकलन गर्न व्यवस्थित क्षेत्र उपलब्ध गराउन सके अन्तरवार्ता दिने र लिने बीचको हार्दिकता अझै बढ्थ्यो ।

विशिष्ट व्यक्तिहरू र माननीयज्यूहरू चियापान र गफगाफमा व्यस्त थिए । नेपाल वान टिभी देखि नै आफूसँगै काम गरेका सहकर्मी, निर्देशक तथा अहिलेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले ‘के छ विष्णु?’ भन्न नपाउँदै छेउमै रहेका सुरक्षाकर्मीले ‘अब भयो, जाऊ’ भन्दै पिछा छाडेनन्। ‘हस्’ भनेर बाटोतिर मोडिँदा माननीय रिमा विश्वकर्माले मेरो एक हातमा क्यामेरा र अर्को हातमा ट्राइपोड देखेर सोधिन् – ‘गाह्रो भयो होला है? चिया खानुभयो त?’ उनको सोधाइलाई जवाफ दिन टाउको हल्लाउन र खिस्स हाँस्नु बाहेक मसँग समय थिएन ।

तर उनको फरासिलो स्वभाव र सहानुभूति चियाको चुस्कीभन्दा धेरै महान थियो धक्का–मुक्कीको थकान मेटाउन । सारमा भन्नु पर्दा, हामीसँग कार्यक्रम गर्न क्षमता छ, तर व्यवस्थापन गर्न संस्कार छैन । जबसम्म हामी धक्का–मुक्कीलाई ‘सामान्य’र अव्यवस्थालाई ‘परम्परा’मानिरहन्छौँ, तबसम्म हरेक राष्ट्रिय कार्यक्रम एउटा अनौपचारिक ‘लाइभ शो’बन्न पुग्छ, जहाँ शपथभन्दा बढी चर्चा पत्रकारको धक्का–मुक्कीको हुन्छ।अन्ततः सुरक्षाकर्मीले बाहिरी गेटसम्म ल्याएर त छाडे, तर मेरो मनमा भने धेरै पहिलेको दरबारको कार्यक्रम पश्चात् सबै पत्रकारहरू सँगै बसेर आनन्दसँग चिया खाएको क्षण र स्थान स्मृतिपटलमा झल्झली आइरह्यो – नारायणहिटी दरबार । लेखक : विष्णु कल्पित (नेपाली चलचित्रका वरिष्ठ छायांकार हुनुहुन्छ)

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : १२ बजे