Logo

मुख्य समाचार

‘रुसमा नेपाल अध्ययन’ विषयक गोष्ठी सम्पन्न



काठमाडौं । ‘रुसमा नेपाल अध्ययन’ विषयक एक दिने गोष्ठी मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । शैली थिएटर तथा काठमाडौंस्थित रुसी सदनको संयुक्त आयोजनामा रुसी भवनमै आयोजित उक्त कार्यक्रम नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित अनेक कार्यक्रम शृङ्खलामध्येको एक कार्यक्रम हो ।

शैली थिएटरका सल्लाहकार साहित्यकार महेश पौड्यालको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा काठमाडौंस्थित रुसी राजदूतावासका कार्यवाहक राजदूत श्री रिनचेन रक्षायेभ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । स्वागत मन्तव्यका क्रममा रक्षायेभले यस्ता अन्तरक्रियाको महत्त्व औँल्याउँदै दुवै देशमा एक–अर्काको कला र साहित्यसम्बन्धी अध्ययन अझै सीमित रहेको सन्दर्भमा यस प्रकारका कार्यक्रम आवश्यक रहेको बताए । उनले साहित्यिक तथा सांस्कृतिक समझदारीले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

मुख्य वक्ता समालोचक, प्राध्यापक तथा कूटनीतिज्ञ प्रा.डा. जङ्गब चौहानले दशकौँदेखि रुसमा नेपालप्रति देखिएको साहित्यिक रुचिको ऐतिहासिक अवलोकन प्रस्तुत गरे । उनले लक्ष्मीप्रसाद देवकोटाको रुस भ्रमण, ल्युडमिला अगानिनासँगको मित्रता तथा त्यसपछिका अनुवाद कार्यहरूको लहरलाई नेपाल–रुस साहित्यिक सम्बन्धका महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे ।

साथै कृष्णगोपाल श्रेष्ठ, राहुन साङ्कृत्यायन तथा डा. बलराम अर्याललगायतका विद्वानको योगदानको विशेष प्रशंसा गरे ।

शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले विगत डेढ दशकमा रङ्गमञ्चन गरिएका अठार रुसी नाटकहरूको संक्षिप्त परिचय प्रस्तुत गरे । रुसी वा अन्य माध्यमिक भाषाबाट अनूदित तथा रूपान्तरण गरिएका ती नाटकमा आन्तोन चेखभ, निकोलाई गो गोल, लियो टोल्स्टोयका कृतिहरूका साथै केही लोककथा पनि समावेश छन् ।

गोष्ठीलाई सम्बोधन गर्दै रुसी भवनकी निर्देशक अनास्टासिया खोख्लोभाले नेपालको साहित्यिक तथा सांस्कृतिक समृद्धिलाई रुसी दृष्टिकोणबाट बुझ्ने प्रयासले दुई देशबिचको मित्रतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए ।

उनले विद्यमान सांस्कृतिक कूटनीतिमा देखिएको रिक्तता पूर्ति गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेकोमा शैली थिएटरको प्रशंसा गरे र वर्षभरि यस्ता अर्थपूर्ण कार्यक्रम सञ्चालन हुने अपेक्षा व्यक्त गरे । सुजन तिमल्सिना

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ४६ बजे