काठमाडौं। अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सात हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी यस्ता प्लेटफर्महरू पहिचान गरेर बन्द गराएको जनाएको छ। प्राधिकरणका अनुसार, हालसम्म ७,००० भन्दा बढी युआरएल र एपहरू बन्द गरिएका छन्।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले पछिल्लो एक सातामा मात्र अनलाइन सट्टेबाजीसम्बन्धी ५० भन्दा बढी गुनासा विभिन्न माध्यमबाट प्राप्त भएको जानकारी दिए। ती गुनासालाई आधार बनाएर कारबाही अघि बढाइएको उनले बताए।
मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नम्बर ४२ ले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरेको छ। सोही निर्णयअनुसार कारबाही गरिएको हो।
मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्नु वा गराउनु दण्डनीय अपराध हो। उल्लंघन गरेमा प्रयोग गरिएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ।
त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा तथा सट्टेबाजी प्रोत्साहन गर्ने विज्ञापन गर्न निषेध गरेको छ। उल्लंघन गरेमा समान सजायको व्यवस्था छ।
सरकारले सर्वसाधारणलाई यस्ता अवैध एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै, शंकास्पद गतिविधिबारे सम्बन्धित निकायमा जानकारी गराउन अपिल गरेको छ।









प्रतिक्रिया