काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री चैत १३ गते बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको एक साताभित्रै उच्च–प्रोफाइल व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ । १३ गते नियुक्त भएर २० गतेसम्म एकहप्तामा आइपुग्दा गृहमन्त्रीले सात जनालाई प्रकाउ गरेका छन् । उनी हिन्दी फिल्म झै एक्सनमा उत्रिएर काम गरिरहेका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली मानिने गृह मन्त्रालयको नेतृत्वमा सुधन गुरुङको नाम प्रस्तावका रूपमा सार्वजनिक हुँदा धरैले आश्चर्य मानेका थिए ।
नमानून् पनि किन, ‘सांसद्हरूलाई तलबै नदिऊँ है’ भन्दै उनले दिएका अभिव्यक्ति त कहिले पत्रकार सम्मेलनमा ‘हाम्रो एजेन्डा के रे.’ भन्दै सोधेको पृष्ठभूमि । सार्वजनिक भएका यस्तै यस्तै स–साना दृश्यका कारण सुधनलाई गृहमन्त्रीका रूपमा अघि सारिएकोमा धेरैले आश्चर्य व्यक्त गरेका थिए । कुनैबेला संविधान संशोधनका विषयमा दिएको एक अभिव्यक्ति पनि धेरैले चासोका साथ लिएका थिए ।
तर, गृहमन्त्री नियुक्त भएपछिका एक सातामा उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ कामबाट दिने प्रयास गरिरहेका छन् । तर उनले लिएका कदमहरु ‘प्रतिशोध’,‘पूर्वाग्रही’ र ऐन–कानुनसँग बाझिने किसिमका भएको भनेर आलोचना समेत भइरहेको छ । पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू उनले धमाधम खोलिरहेका छन् । जसले ‘हाइ–प्रोफाइल’हरुलाई टाउको दुखाइ बनेको छ ।
गृहमन्त्रीको एक हप्ता
चैत १३ गते (नियुक्ति दिन)
गृहमन्त्री नियुक्त भएकै दिन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न निर्देशन दिए ।
चैत १४ गते (शनिबार)
चैत १४ गते केपी ओली र रमेश लेखकलाई निवासबाट पक्राउ गरियो । प्रकाउ गर्दा केहीबेर ओली निवासमा तनाव सिर्जना भयो भने लेखक स्वेच्छाले उपस्थित भए । पक्राउ नहुँदासम्म गुरुङ प्रहरी मुख्यालयमै बसेर निर्देशन दिइरहेका थिए । सोही दिन जावलाखेल र सातदोबाटोमा निरीक्षण गर्दै एमाले नेता कर्णबहादुर मल्ललाई समेत पक्राउ गरियो ।
चैत १५ गते (आइतबार)
चैत १५ गते आइतबार गुरुङले सिंहदरबारस्थित क्यान्टिनमा पुगेर सर्वसाधारणसँग भेटघाट गरे, अनौपचारिक रूपमा संवाद गर्दै ‘भीआईपी शैली’ अन्त्यको संकेत दिए । १५ गते नै कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई समेत पक्राउ गर्न आदेश दिए ।
चैत १६ गते (सोमबार)
चैत १६ गते सोमबार प्रहरी प्रधान कार्यालय निरीक्षण गर्न पुगे । निरीक्षणका क्रममा उनले तल्लो तहका प्रहरीको समस्या सुन्दै तलब, पोषण र सरुवा प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाए ।
चैत १७ गते (मंगलबार)
चैत १७ गते (मंगलबार) ओलीको रिहाई गर्न माग राख्दै प्रदर्शनका क्रममा दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेट्न उनी घरमै पुगे । घटनामा संलग्न व्यक्तिलाई समेत पक्राउ गरियो ।
चैत १८ गते (बुधबार)
चैत १८ गते (बुधबार) केपी शर्मा ओली र रमेश लेखक सम्बन्धी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरमा पुगेर उनले प्रत्यक्ष अनुगमन गरे ।
चैत १९ गते (बिहीबार)
चैत १९ गते (बिहीबार) पशुपतिनाथ मन्दिर दर्शनका क्रममा उनले सर्वसाधारणलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापनमा आफैं संलग्न भए । त्यसपछि संसद् बैठकमा उपस्थित भइ अध्यादेशहरू पेस गरे ।
चैत २० गते (शुक्रबार)
चैत २० गते (शुक्रबार) घाइते आन्दोलनकारीलाई केएमसी अस्पतालमै पुगेर भेटे । सोही दिन सामाजिक सञ्जालमा विश्रामको तस्बिर पोस्ट गर्दै ‘जनताभन्दा माथि सरकार हुँदैन’ सन्देश दिए ।
गुरुङ गृहमन्त्री भएपछि प्रकाउ परेका ‘हाइ–प्रोफाइल’हरु
१.केपी शर्मा ओली–पूर्वप्रधानमन्त्री
२. रमेश लेखक–पूर्वगृहमन्त्री
३. कर्ण मल्ल–एमाले नेता
४. रेखा शर्मा–एमाले नेता
५. दीपक खड्का–पूर्वउर्जामन्त्री
६. छवि रिजाल–काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी
७. दीपक भट्ट–व्यवसायी
८. राजकुमार अर्याल
९. शंकर अग्रवाल, व्यवसायी
१०. सुलभ अग्रवाल(व्यवसायी)










प्रतिक्रिया