रामेछाप । रोशी खोलामा पानीको बहाव बढेपछि मंगलबार साँझबाट रोकिएका बिपी राजमार्गमा आज बिहानबाट पुन सञ्चालनमा आएको छ । साँझदेखि अनिश्चित कालीन रूपमा यातायात सञ्चालन रोकिएको लगाइएको सडक बिहानबाट खोलिएको प्रहरीले जनाएको छ ।
सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले हिजो साँझ ७ बजेदेखि राजमार्ग बन्द गरेको थियो ।प्रहरीका अनुसार राजमार्गअन्तर्गत भकुन्डे–नेपाल थोक खण्डमा भारी वर्षाका कारण रोशी खोलामा जलस्तर बढेको कारण सडक बन्द गरिएको हो । तर खोलामा पानीको सतह घटेपछि पुन यातायात साधन छाडिएको छ ।
प्रहरीले खोलामा पानीको सतह बढ्ने बित्तिकै सडक बन्द हुने भएकोले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । यसअघि गत शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग दुई दिनसम्म अवरुद्ध बनाएको थियो । करिब ३६ घण्टापछि आइतबार बिहानबाट मात्रै सवारी सञ्चालन पुनः सुरु गरिएको थियो ।
शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा बनाइएको अस्थायी सडकसमेत बगाएको थियो। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकी डाँडादेखि नेपाल थोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सन बाढीले क्षति पु¥याएको थियो । त्यसपछि शुक्रबार साँझदेखि नै राजमार्ग ठप्प बनेको थियो ।
गत वर्ष असोजमा आएको बाढी पहिरोले चौकी डाँडा–नेपाल थोक सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक र डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन हुँदै आएको थियो ।










प्रतिक्रिया