Logo

समाचार

रामेछापमा आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढ्यो



रामेछाप । रामेछाप जिल्लामा विगतको तुलनामा आयुर्वेदिक उपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले मङ्गलवार पत्रकार सम्मेलन गरी चिकित्सालयले प्रवाह गरेको सेवाका बारे जानकारी दिँदै सेवा लिनेको सङ्ख्या बढेको जानकारी दिएको हो ।

कार्यालयका निमित्त प्रमुख दीपक कार्कीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ७८४ जनाले सेवा लिएको चिकित्सालयमा गएको वर्ष हजार ८४६ जनाले सेवा लिएका थिए । यस आर्थिक वर्षको फागुन महिनासम्म मात्रै ६ हजार १८१ जनाले सेवा लिएका कार्कीले बताए ।
ज्येष्ठ नागरिक सेवा तर्फ आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ९६२ जनाले सेवा लिएकामा अघिल्लो वर्ष ३ हजार १५४ जना सेवा लिएका थिए । यस वर्षको फागुन महिनासम्म २ हजार ३५० जनाले सेवा लिइसकेका उनले जानकारी दिए ।

अकुपञ्चार तर्फ गत वर्ष १ हजार ८२ जनाले सेवा लिएकामा यस वर्षको फागुनसम्म १ हजार ६४३ जनाले सेवा लिइसकेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ९२३ जनाले सो सेवा लिएका थिए ।

चिकित्सालयबाट यस वर्षको हालसम्म १ हजार ४४ जनाले फिँजियो थेरापी सेवा लिएका छन् । गत आर्थिक वर्षमा १ हजार ६९० जनाले सेवा लिएका थिए भने त्यसको अघिल्लो वर्ष कुल १ हजार १७० जनाले सेवा लिएका थिए ।

चिकित्सालयले साप्ताहिक रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको तथा जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना अनुसार काम भइरहेको उनले बताए । शिविरहरू सञ्चालन गर्न विभिन्न औषधि कम्पनीहरूले निःशुल्क औषधि उपलब्ध गराएका उनले जानकारी दिए ।

कार्यक्रममा अस्पतालका डा।उत्तम गैरेले आयुर्वेदिक उपचार र यसको महत्त्व बारे प्रकाश पारेका थिए । उनले आयुर्वेदिक उपचार मानव जीवनको सुरुवातसँगै सुरु भएको बताए । आयुर्वेद शरीरका लागि मात्र नभएर सम्पूर्ण जीवनको लागि भएको उनले प्रस्ट पारे ।

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम सागर थापाले चिकित्सालयले आयुर्वेदिक उपचार सेवा विस्तार र प्रवर्धनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरी यसको विकासका लाग थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकले चिकित्सालयमा बिरामी भर्ना गरेरै सेवा दिने योजनाका साथ लागि रहेको जानकारी दिए । यसो गर्न सक्दा लामो उपचार गर्नुपर्ने बिरामीलाई सहयोग पुग्ने उनको धारणा छ । चिकित्सालयको सेवा प्रवाहमा सबैले सहयोग गरेका भन्दै उनले धन्यवाद पनि दिए ।

जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख थापाको प्रमुख आतिथ्यता तथा चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पथिकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पत्रकारहरूलाई चिकित्सालयले प्रवाह गरेको सेवा, चुनौती र उपलब्धि बारे जानकारी गराइएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  २ : ५६ बजे