विराटनगर । सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न टाढाटाढाबाट आउने विद्यार्थीका लागि दीर्घकालीन समाधान खोज्दै छात्र तथा छात्राका लागि छुट्टाछुट्टै छात्रावास निर्माण कार्य सुरु गरिएको छ । यसलाई क्याम्पसले ‘शिक्षामा पहुँच विस्तार’ को रणनीतिक कदमका रूपमा अघि बढाएको जनाएको छ ।
झण्डै पाँच करोड रुपैयाँ लागतमा बन्ने छात्रावासको शनिबार क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गरेका हुन् । संघीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा पहिलो किस्ताबापत १ करोड ४२ लाख रुपैयाँ निकासा भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।
पहिलो चरणमा छात्र र छात्राका लागि अलग–अलग एकतले भवन निर्माण गरिनेछ, जसमा प्रत्येकतर्फ १४–१४ वटा कोठा रहनेछन् । निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन प्रालि ले पाएको छ । ठेकेदार जीवन तिम्सिनाका अनुसार पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
क्याम्पसका पदाधिकारीहरूका अनुसार छात्रावास निर्माणले विशेषगरी पूर्वी पहाडी जिल्ला र मधेश प्रदेश बाट आउने विद्यार्थीलाई ठूलो राहत दिनेछ । हाल ती विद्यार्थीहरूलाई डेरा खोज्ने र महँगो भाडा तिर्ने बाध्यता रहेको छ । छात्रावास बनेपछि त्यस्तो समस्या अन्त्य हुने विश्वास लिइएको छ ।
क्याम्पस प्रमुख डा। गीता अधिकारीका अनुसार दुर्गम र आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न छात्रावास निर्णायक बन्नेछ । ‘नियमित उपस्थिती,अध्ययनमा निरन्तरता र समग्र शैक्षिक उपलब्धीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छौं,’ उनले भनिन् ।
जनता क्याम्पसले पछिल्लो समय विद्यार्थीमैत्री सेवाहरू विस्तार गर्दै आएको छ । हाल क्याम्पसले ७ वटा बसमार्फत सुनसरी र पूर्वी मोरङका विभिन्न स्थानबाट विद्यार्थीलाई निःशुल्क आवतजावत सुविधा दिँदै आएको छ । यसैबीच, क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई समेत प्राथमिकता दिएको छ । भारतका बाबा मस्तनाथ विश्वविद्यालय र श्री जे जे टी विश्वविद्यालय सँग सम्झौता गर्दै शैक्षिक आदान–प्रदानलाई विस्तार गरिएको छ ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरिसकेको क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् भने कक्षा ११–१२ समेत पढाइ हुँदै आएको छ । क्याम्पसमा हाल ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।










प्रतिक्रिया