Logo

मुख्य समाचार

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ मा बैंकिङ विधातर्फको अवार्ड सन्तोष कोइरालालाई



इटहरी । बैंकिङ्ग क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई कोशी एक्सिलेन्स अवार्ड २०२६ को बैकिङ्ग विधातर्फको अवार्ड प्रदान गरिएको छ ।

नयन मिडिया फाउन्डेसन इटहरीले आयोजना गरेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा बैंकिङ विधातर्फको अवार्ड माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालालाई प्रदान गरिएको हो ।

सुनसरीको इटहरीमा रहेको होटल सोल्टी वेस्टेन्डमा जारी कोशी एक्सिलेन्स अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोइरालालाई उक्त अवार्ड प्रदान गरेका हुन्।

वि.सं. २०३० साल पुष २६ गते भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर ४ मा बुबा खगेश्वर कोइराला र आमा शान्ता कोइरालाको कोखबाट जन्मिएका कोइराला नेपाली बैंकिङ क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल व्यक्तित्वका रूपमा परिचित छन्।

बाल्यकालदेखि नै अनुशासन, मेहनत र लगनशील स्वभावका कोइरालाले झापाको वीरेन्द्र माध्यमिक विद्यालयबाट वि.सं. २०४५ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए।

प्रारम्भमा इन्जिनियर बन्ने लक्ष्यसहित काठमाडौं पुगेका कोइरालाले प्रमाण पत्र तह विज्ञान विषयबाट उत्तिर्ण गरेर पुनः झापा फर्किएर मेची बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक अध्ययन पूरा गरेका हुन्।

पछिल्लो चरणमा उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए अध्ययन गरी बैंकिङ क्षेत्रमा आफ्नो करियरलाई थप मजबुत बनाएका छन्।
सन् २०५७ मा बैंक अफ काठमाडौंबाट जुनियर असिस्टेन्ट पदबाट बैंकिङ क्षेत्रको यात्रा सुरु गरेका कोइरालाको निरन्तर मेहनत र समर्पणले सानिमा विकास बैंकमा करिब साढे नौ वर्ष कार्य गर्दा म्यानेजरसम्मको जिम्मेवारी सम्हालेका थिए।

त्यसपछि माछापुच्छ्रे बैंकमा सिनियर म्यानेजरका रूपमा आवद्ध भएका कोइराला क्रमशः पदोन्नति हुँदै अहिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएका छन्। हजारौं कर्मचारीमध्ये एक जनाले मात्र प्राप्त गर्ने यो अवसर उनले तल्लो तहबाट सुरु गरेको यात्रामार्फत हासिल गरेका हुन्।

हाल उनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतका साथै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा नेपाल वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सञ्चालक समिति सदस्य लगायत विभिन्न जिम्मेवारीमा सक्रिय छन्।

शैक्षिक र व्यावसायिक जीवनसँगै उनले खेलकुद तथा अन्य गतिविधिमा पनि उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न पुरस्कार हासिल गरेका छन्। शिक्षक, होस्टेल वार्डेन र अडिट फर्ममा कार्यरत रहँदा समेत उनले कहिल्यै हार नमानी निरन्तर संघर्ष गर्दै अघि बढेका थिए।

उनको सफलतामा जीवनसाथी निशा पोखरेलको साथ र परिवारको समर्थन महत्वपूर्ण रहेको उनी बताउछन् । पराजयलाई स्वीकार गर्दै त्यसबाट सिक्ने र सकारात्मक सोचका साथ अघि बढ्ने हो भने सफलता अवश्य प्राप्त हुन्छ भन्ने विश्वासका साथ उनले आफ्नो जीवन यात्रा अघि बढाएका छन्।

दीर्घकालीन अनुभव, नेतृत्वदायी भूमिका तथा बैंकिङ क्षेत्रको विकासमा पु¥याएको योगदानको कदरस्वरूप सन्तोष कोइरालालाई ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत बैंकिङ विधातर्फको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ५ : २४ बजे