काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले नेपाल वायुसेवा निगमभित्र देखिएको बेथिति तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको बताएका छन् ।
गुरुङले शनिबार सामाजिक सञ्जालमा ज्ञापनपत्र बुझाएको फोटो सार्वजानिक गर्दै मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।
उनले जहाज खरिददेखि मर्मतसम्म भएका अनियमितताविरुद्ध प्रमाणसहित पहल गरिएपछि सरकारले तत्काल कदम चालेको उल्लेख गरेका छन् ।
उनका अनुसार अब वर्षौंदेखि थन्किएका फाइलहरू खोलिने छन् र छानबिन समितिले प्रमाण संकलन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनका आधारमा भ्रष्टाचारमा संलग्नमाथि कडा कानुनी कारबाही अघि बढाइने उनले बताएका छन् ।
गुरुङले राष्ट्रिय ध्वजाबाहक संस्थालाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध खबरदारी जारी रहने उल्लेख गर्दै सुशासनको लडाइँ अझ सशक्त बनाइने बताएका छन् ।










प्रतिक्रिया