Logo

समाचार

मृत भेटिएकी मायाका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता



सुर्खेत । नाबालक छोरीछोरीसहित वेपत्तापछि मृत भेटिएकी गुर्भाकोट नगरपालिका १२ की माया कठायतका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ ।
मायाका बुबा र दाजुले उनका श्रीमान भूपेन्द्र कठायतविरुद्ध मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकाश केसीले बताए ।
श्रीमानको चरम यातनाको कारण छोरीले छोराछोरीसहित भेरीमा हामफालेको भन्दै मायाका बुबाले जाहेरी दर्ता गराएका हुन् ।
मायाका बुबा बालुदेव गिरीले दैनिक मदिरा सेवन गरी छोरी र नाती–नातिनालाई ज्वाइँले यातना दिने गरेको जाहेरीमा उल्लेख गरेका छन् । मायाको बुवाको जाहेरी पछि प्रहरीले भूपेन्द्रलाई पक्राउ गरेको छ ।
आइतबार मायाले ११ वर्षीया छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित भेरीमा हाम फालेको हुनसक्ने आशंका गरिएको हो । माया हराएको भोलीपल्ट भेरी नदी किनारमा मायाको शव फेला परेको थियो ।
सोमबार उनकी छोरी आशाको शव फेरी किनारमै भेटिए पनि पाँच बर्षिय छोरा दीपक अझै वेपत्ता छन् । आशाको शवको मेहलकुना अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ६ : १२ बजे