Logo

समाचार

‘धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने’



काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् ।

बिहीबार आयोजित ‘ज्योतिष दिवस समारोह–२०८२’ मा बोल्दै उनले धर्मशास्त्रको पर्याप्त ज्ञानबिना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने बताएका हुन् ।

उनले पछिल्लो समय धेरै व्यक्तिहरूले विषयवस्तु नबुझीकन धारणा सार्वजनिक गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै यस्ता गलत बुझाइलाई हटाउन आवश्यक रहेको बताए ।

‘ज्योतिष र धर्मशास्त्रबीच अन्योन्याश्रित सम्बन्ध छ । धर्मशास्त्रको कुरा नजानी ज्योतिषीले बोल्दा पनि आपत्ति आइपर्छ । आजका दिनमा पनि धेरै आपत्तिका कुराहरु आएका थिए । धेरै कुराहरु नबुझेर बोलिरहेका हुन्छन्,’ उनले भने ।

उनका अनुसार ज्योतिषी, पण्डित, पुरोहित तथा धर्मशास्त्रका विज्ञहरूबीच आपसी समन्वय र समान दृष्टिकोण आवश्यक छ । ‘हामी सबैले एकीकृत रूपमा बोल्नुपर्छ र विचारपूर्वक अभिव्यक्ति दिनुपर्छ,’ उनले भने ।

सोही कार्यक्रममा समितिका पूर्वनिर्देशक पण्डित सूर्यप्रसाद ढुङ्गेलले वर्तमान अवस्थामा धर्म, संस्कार र संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताए ।

उनले परम्परागत मूल्य–मान्यता संकटमा परेको उल्लेख गर्दै यसको संरक्षणमा ज्योतिषीहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।
ढुङ्गेलले आधुनिक प्रविधिको विकाससँगै परम्परागत ज्ञान र अध्ययनप्रतिको चासो घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले पर्याप्त अध्ययन र दक्षताको अभावका कारण सेवाग्राहीहरू समेत प्रभावित भइरहेको बताए ।

‘हाम्रो परम्परा अहिले आधुनिक वैधानिक प्रविधिको विकासले हाम्रो आफ्नो क्षमताले काम चलिहाल्छ भनेर हाम्रो क्षमता बृद्धि गर्ने कुरा एकातिर घट्दै घट्दै गइरहेको छ ।अर्कोतिर सक्षम भएर सेवा दिनुपर्ने हो यो कुराहरुमा हाम्रो आफ्नै अध्ययनको जागरका कमिले गर्दा हाम्रा उपभोक्ताहरु मर्कामा पनि परेका छन्’, उनले भने ।

उनले ज्योतिषशास्त्र, धर्म र संस्कृतिको संरक्षणका लागि ज्योतिषीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समय आएको उल्लेख गरे ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ४ : ४२ बजे