Logo

समाचार

बागलुङमा जीप दुर्घटना : सातजना घाइते



ढोरपाटन— बागलुङमा बोलेरो जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
गलकोट नगरपालिका–३, हटियाबाट बागलुङ बजारतर्फ जाँदै गरेको लु ३ च ५१५० नम्बरको जीप बागलुङ नगरपालिका–४, रातमाटास्थित मध्यपहाडी लोकमार्गमा बुधबार दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक गलकोट नगरपालिका–३ का २५ वर्षीय यादव खत्रीसहित ५६ वर्षीय देवबहादुर केसी, ७३ वर्षीया दिलकुमारी सहनी, २६ वर्षीया सारदा खत्री, २४ वर्षीय रोशन थापा, ७३ वर्षीय कुलबहादुर सहनी र २२ वर्षीय करण सहनी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेका अनुसार घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई तत्काल उद्धार गरी धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचारका लागि पठाइएको छ।
प्रहरीका अनुसार जीपमा सवार सबै यात्रु घाइते भएका छन्। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ८ : ०१ बजे