काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हेलिकोप्टरमार्फत ढुवानी गर्दा मतपेटिका साटिने भन्ने हल्ला पूर्णतः निराधार र भ्रामक भएको बताएका छन्।
बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे। उनका अनुसार परम्परागत रूपमा तीन तहको सुरक्षा घेराभित्र मतपेटिका राखिने व्यवस्था कायम रहनेछ।
भण्डारीले मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहवरमा मतपेटिका सिल गरिने र प्रतिनिधिहरूको आफ्नै चिन्ह अंकित लाहाछाप लगाइने जानकारी दिए। मतपेटिकाको सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने व्यवस्था यथावत् रहेको उनले बताए।
“कतिपय ठाउँमा हेलिकोप्टरमा मतपेटिका राखेपछि मतपेटिका नै परिवर्तन हुन्छ भन्ने सुनेको छु, त्यो किञ्चित सत्य होइन, कुनै हालतमा हुँदैन,” भण्डारीले भने, “मतगणनाको समयमा दलका प्रतिनिधिहरूले आफ्नो लाहाछाप ठीक छ कि छैन भनेर हेरेर मुचुल्का बनाएपछि मात्र मतगणना सुरु हुन्छ।”
दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न नेपाली सेनाको सुरक्षित हेलिकोप्टर प्रयोग गरिने जानकारी दिँदै उनले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरे।










प्रतिक्रिया