Logo

निर्वाचन विशेष

हेटौंडामा निर्वाचनको तयारी पूरा, ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन


२० फाल्गुन २०८२, बुधबार  

69
Shares

मकवानपुर । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन सकिएको छ ।

हाल मतदान केन्द्रहरूमा बुथ व्यवस्थापन, डोरी टाँग्ने, मतदाताको प्रवेश–निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल पनि तयार भइसकेका छन् । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।

जिल्लामा १६७ मतदान स्थल कायम गरिएको छ । तीमध्ये १९ अति संवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकृत छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना लागू गरिएको प्रशासनले जनाएको छ ।

मकवानपुरमा दुई अस्थायीसहित कुल ३७६ मतदान केन्द्र स्थापना गरिएका छन् । मतदान कार्य सञ्चालनका लागि ३ हजार ३६६ कर्मचारी खटाइएको छ । ५ सयसम्म मतदाता भएका केन्द्रमा ८ जना, ५ सयभन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र अस्थायी मतदान केन्द्रमा ५ जना कर्मचारी परिचालन गरिएको छ ।

जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र मकवानपुर–१ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्रमार्फत १ लाख ५८ हजार ४३४ मतदाताले मतदान गर्नेछन् ।

त्यस्तै मकवानपुर–२ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्रमार्फत १ लाख ५६ हजार ८९९ मतदाता सहभागी हुनेछन् । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबिच समन्वयात्मक सुरक्षा योजना लागू गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ३ : ०८ बजे