काठमाडौं । प्रतिनिधिसभा सदस्य काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार डा.शम्भु पोखरेलले जनतालाई हरेक पटक बहानाबाजी गरेर मूर्ख बनाउन नसकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्तामा पुगेकाहरूले असफलताको दोष सेना, सुरक्षाकर्मी, समाज वा प्रणालीमाथि थोपर्ने प्रवृत्ति बढेको आरोप लगाए ।
उनले भने, ‘जनतालाई हरेक पटक मूर्ख बनाउन सकिँदैन। तपाईं नालायक हुनुभयो दोष दिनुभयो आर्मीलाई, सुरक्षाकर्मीलाई, समाजलाई दोष दिनुभयो । तपाईंलाई कुर्सीमा केको लागि राखेको ? के को लागि जानुभएको थियो ? तपाईंलाई कुर्सीमा राखेको कसैको कविता सुन्न र सुन्दरताको बयान गर्न लागेको हो ?’
उनले आफू स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा उत्रिएको उल्लेख गर्दै स्वतन्त्रको बल के हुन्छ आफूले देखाइदिने दाबी गरे । सत्य एक्लो भएपनि सत्य नै हुने र झुुटको बहुमत भएपनि त्यो झुट नै उनले बताए । ‘अब यस्तो भयो त्यस कारण गर्न सकिएन भन्ने छुट कसैलाई हुँदैन । शम्भु पोखरेल उभिएको छ । स्वतन्त्र छ,अब म देखाइदिन्छु स्वतन्त्रको बल के हुन्छ । स्वतन्त्र उम्मेदवारले के गर्न सक्छ । सत्य एक्लो भएपनि सत्य नै हुन्छ । झुुटको बहुमत भएपनि झुट हुन्छ । देश परिवर्तनको सिंगारमा छ ।’
उनले देशको प्रणाली कमजोर बनेको र गलत नेतृत्वका कारण मुलुक संकटतर्फ गएको टिप्पणी गरे । अहिले देश कठिन मोडमा रहेको उल्लेख गर्दै उनले नागरिक, देशभित्र र बाहिर रहेका सबै नेपालीलाई परिवर्तनका लागि समय दिनुपर्ने बताएका छन् । नेतृत्वमा पुगेकाहरू पदमा टाँस्सिएर बस्ने प्रवृत्तिले जनअपेक्षा विपरीत काम भएको भन्दै उनले अब मतदाताले सचेत भएर निर्णय लिनुपर्ने बताए।










प्रतिक्रिया