Logo

समाचार

धनगढीको सफल भट्ट परिवार : जो घोडा–खच्चड हुँदै कम्युटरको दुनियाँमा उक्लियो



धनगढी । अध्ययन गर्ने सपना बोकेर वि.सं. २०१६ सालतिर डोटीको गड्सेराका बामदेब भट्ट भारतको पञ्जाव पुगे । उनी त्यहाँस्थित लक्ष्मीनारायण संस्कृत कलेजमा भर्ना भए । उनले त्यहाँ प्रथमासम्मको अध्ययन गरे । घरको आर्थिक अवस्था कमजोर थियो, त्यसैले उनले काम गर्ने सोच बनाए ।

काम त गर्ने तर के गर्ने? केही समय उनी यस्तै साचेको उल्झनमा अल्झिरहे । उनी कामकै खोजीमा भारतको राजधानी दिल्ली पुगे । फरिदाबादको एक ग्यारेजमा उनले केही समय मेकानिक्सको काम गरे । त्यो काम भट्टलाई चित्त बुझ्दो लागेन । अन्ततः निर्णय गरे, ‘खच्चडमा ढुवानीको काम गर्छु ।’

उनी टनकपुरबाट खच्चडमा सामान बोकेर डोटी, अछाम, बझाङ र बाजुराका गाउँबस्ती पुग्न थाले । त्यही काममा उनको रस बस्यो। एक दशकसम्म उनले भारतीय बनियाकोमा काम गरे । उनले दैनिक ज्यालादारीमा काम गरेर नेपाल र भारतका बस्तीमा दश वर्ष विताए । ‘हामी डोटीका टेकबहादुर अमात्य, खड्क बहादुर सिंह ‘फत्ते राजा’ लगायत व्यापारीको सामान ढुवानी गथ्र्यौं। बुढीगंगाको उर्लंदो भेल तरेर कयौं पटक बयालपाटा पुगेको छु खच्चरमा माल लगेर,’ उनले अतित सम्झदै भने ।

व्यापारीले मगाए मुताविक सामान बाकेर आफूहरू गाउँबस्तीमा पुग्ने गरेको उनी स्मरण गर्छन् । त्यसरी गाउँबस्तीमा पुग्न १८ दिनसम्मको यात्रा तय गर्नुपथ्र्यो। कहिले त करिव एक महिना ओहोरदोहोरमै वित्थ्यो । दर्के झरी, चर्को घाम, उर्लंदा खोला र खहरे, हिउँ र हिउँदे कठ्याङ्ग्र्रिदो चिसो छिचोल्दै पहाडका उकाली–ओरालीहरूमा खच्चडको खाक्कर धुनसँग पाइला मिलाएर भट्टले ४० वर्ष विताएका छन्।

भट्टको समूहमा सात जना हुन्थे । एक जनाको भागमा ५÷६ खच्चडको जिम्मेवारी हुन्थ्यो। यसरी हेर्दा ४०÷४२ खच्चडको बीचमै उनीहरूको दैनिकी वित्थ्यो। ब्राह्मण पुत्र भएकाले सबैले भट्टलाई खाना पकाउन भन्थे । उनी सात सहयात्रीका भान्से पनि थिए । उनी त्यसरी महिनाभर काम गरेर एक सय रुपैयाँ कमाउथे । ‘त्यो समयमा रुपैयाँको निकै महत्व थियो । एकसय रुपैयाँ बचत हुँदा पनि ठूलो कमाइ लाग्थ्यो,’ उनले भने।

उनले दश वर्ष भारतमा काम गरिसकेपछि दुई वर्ष बैतडीको पुड्चौडीका व्यापारी मानसिंह धामीसँग काम गरे। त्यसपछि ०३१ सालमा भट्टले आफैँ पाँच ओटा खच्चड किने । कामदारबाट सुरु गरेको यात्रालाई उनले एक दशकपछि साहुँका रुपमा विस्तार गरे ।

‘मसँग १० वर्ष काम गरेर पनि आफैँ पाँच ओटा खच्चड किन्न सक्ने पैसा थिएन। धामीसँग खच्चडको पैसा तिर्न नसक्दासम्म मिलेर काम गर्ने बाचासहित खच्चर किनेको थिएँ। त्यसरी ऋण तिर्न मलाई करिव डेढ वर्ष लाग्यो,’ उनले भने । उनले तत्कालीन समयमा एउटा खच्चडको २३ सय पर्ने गरी किनेका थिए ।

मानसिंहको पैसा तिरिसकेपछि भट्टलाई खच्चड आफू अनुकूल चलाउन सहज भयो। ०३५ सालबाट भट्टले आफू अनुकूल काम गर्न थाले। धेरै सामान जाँदा एक खेलमा पाँच रुपैयाँसम्म बढाएर पनि काम पाएको उनी सम्झन्छन् । कामकै क्रममा एक जनाबाट भट्टले धोका पाए। दार्चुलाका एक जनाले उनको १२ हजार रुपैयाँ पच गरिदियो । भट्टले धरानको टम्बर कन्स्ट्रक्सनले साफेमा गोदाम घर बनाउँदा २२ हजारको उधारो सिमेन्ट बोके । त्यो कन्स्ट्रक्सन पनि पैसा नदिएर भाग्यो। ‘यसरी म घाटामा गएँ । तर, मैंले कसैको पैसा रोकिनँ । काम छोडिनँ। निरन्तरता दिएँ। पैसा तिर्दै गएँ,’ उनले भने।

भट्टको इमान्दार छवी थियो। उनी कसैसँग कुनै छलछाम गर्दैनन्। त्यसैले व्यापारीको पहिलो रोजाइमा पर्थे भट्ट । कहिलेकाहीं व्यापारी महिनौंसम्म उधारो पनि पत्याउथे । जसले गर्दा भट्टको व्यावसायिक यात्रा झागिँदै गएको थियो। उनले ढुवानी गरेको सामान सुरक्षित रुपमा गन्तव्यमा पुग्थ्यो। काम गर्दा उनले कहिले कुनै गुनासो सुन्नु परेन।

उनी सरकारी कार्यालयमा पनि सामान ढुवानी गर्थे। भट्टसँग खप्तड बाबा स्वामीको आश्रममा सामान ढुवानी गरेको अनुभव पनि छ । ‘त्यस दौरानमा खप्तड स्वामीसँग भेट भयो । उहाँमा अद्भुत क्षमता थियो। कहिले पाँच मिनेट मात्र हामीसँग कुरा गर्दा संसारको कुरा भनिदिनु हुन्थ्यो । औधि प्रेरणा जागृत हुने कुरा गर्नुहुन्थ्यो । तर, उहाँको अनुहार भने देख्न पाइनँ । उहाँका आँखा मात्र खुला हुन्थे । अरु अनुहार छोप्नु भएको हुन्थ्यो,’ उनी सम्झिन्छन् ।

स्वामीलाई भेट्ने समय निर्धारण गरिएको हुने र तोकिएको समयमा मात्र भेट्न पाइने उनी बताउँछन् । सरकारले नै उनका लागि सबै खाने कुरा र सुरक्षाको व्यवस्था गरिदिएको थियो। ती सबैका लागि सामान ढुवानी भट्टले नै गर्थे।

‘बाटोघाटोको निकै समस्या थियो । खप्तड जाँदा हामी बगलेख बस्थ्यौं। त्यहाँबाट चोयजन्ने तालमा बस्थ्यौं। त्यसपछि माइ तालमा बस्थ्यौं। त्यहाँ बाघ घुर्राउथ्यो। बाघ घुर्राउँदा घोडा खच्चर दौडिएर बास स्थानमा आउँथे । त्यस्तो क्षति भने भोग्नु परेन,’ उनले भने। उनले कोल्टिसम्म सामान ढुवानी गरेका छन्।

‘खप्तड, बोगटान, चमाराचौतारा, गगुडा, धिर्कामाण्डौं, सातफरी, केदाराखाडा, सिमचौर इलाकामा सामान बढी जान्थ्यो। एउटा खच्चडले २० वर्षसम्म काम गथ्र्यो,’ उनले भने। केही मानिसले बाहुनको छोराले खच्चडको व्यापार गर्यो, यसका हातको भात, पानी खानु हुँदैन पनि भने । तर, भट्टलाई कुनै कुराको प्रवाह भएन । उनलाई आफ्नो व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने मात्र चिन्ता थियो । त्यसैले उनले समाजका तिखा बचनको प्रवाह नै गरेनन्।

आफूले गरेको आम्दानीले बुबाबाजेको भोकबन्धकीमा राखेको जमिन फिर्ता लिए । आम्दानी बढ्दै जाँदा समाजका मानिस पनि नजिक भए । उनीप्रति आस गर्न थाले र दैनिकी सहज हुँदै गयो। ‘मैले त धेरै कुरा बुझेको थिएँ। भारतको अमृत सहरमा काम गर्दाका दौरान धेरै कुरा सिकेको थिएँ। मैंले काम सानो हुँदैन भन्ने बुझेको थिएँ,’ उनले भने ।

उनले एउटा घोडा पनि पालेका थिए । तर, दिपायलमा उनले घोडा बाध्ने तबेला नजिकै सुगुर पालन गरियो । त्यसपछि इन्सफलाइटिस भएर घोडाको ज्यान गयो। त्यसले उनलाई थोरै दुःखी तुल्यायो। उनी घोडाका पारखी थिए, घोडाबीना बस्न सक्ने कुरै थिएन। त्यसैले उनले अर्को घोडा किने। यस्तो लगावले जीवनमा आफू सफल भएको र अहिलेको स्थानमा पुग्नुले निकै खुसी तुल्याएको उनी बताउँछन्।

सशस्त्र द्वन्द्वपछि भने उनको व्यवसाय ओझेलमा प¥यो । कामदार पाउन गाह्रो हुन थाल्यो । कामदार नपाएपछि खच्चरको रेखदेख र ढुवानी गर्न गाह्रो हुनथाल्यो। उमेरसँगै आफू पनि असक्त हुँदै गए र उनी खच्चर व्यवसायबाट पलाएन भए ।

उनको घरको माहोल व्यवसायीक थियो। छोराहरू धर्म र डिल्लीले सानैदेखि बुबाले गरेको दुःख र संघर्ष देखेका थिए। बुबाको पछिपछि नजिकका बस्तीहरूमा पुग्थे। त्यही प्रेरणाले एक दशकदेखि धनगढीको रातोपुलमा उनीहरूले एस कम्प्युटर नामक व्यवसाय सञ्चालन गरेका छन्। हिजो भट्टले सुदूरका गाउँबस्तीमा खच्चरमा दैनिक उपभोग्य सामान ढुवानी गरे। आज उनका छोराहरूले गाडिमा कम्प्युटरका सामग्री ढुवानी गरिरहेका छन्। यसले भट्टलाई निकै खुसी तुल्याएको छ ।

‘मंैले यही जीवनमा स्वर्ग देखेँ। भगवान हुँदा रहेछन्। हिजो खच्चरसँग मैले गरेको संघर्ष भगवानले देखे । आजा दुई छोरा र दुई छोरीले सुखमय जीवन विताइरहेका छन् । आफ्नो व्यापार व्यवसाय गरिरहेका छन्। मलाई त अहिले आफ्नो संसार स्वर्ग जस्तै प्यारो लाग्छ,’ उनले भने।

भट्टका कान्छा छोरा डिल्ली बुबाले दिएको प्रेरणा र देखेको संघर्षले नै आफूहरू व्यवसायमा प्रेरित भएको बताउँछन् । ‘स्कुल बिदा हुँदा, दसैं तिहारको बिदामा हामी बुबासँग हिँड्थ्यौं। त्यसरी हिँड्दा हामीले बुबाको संघर्ष देख्यौं, उहाँका दुःख देख्यौं। र, त्यही संघर्ष देखेर हामी व्यवसायतर्फ प्रेरित भएका हौं,’ उनले भने।

बुबासँग त्यसरी हिँड्दा आफूले निकै दुःख देखेको उनी बताउँछन्। ‘बिहान ५ बजे उठ्ने, खच्चरमा सामान लाद्ने, बिहान ६ः३० मा निस्कने गर्नुपथ्र्यो। सामान लाद्दा ४०÷४० केजीको बोरी उठाउनु पथ्र्यो। पहाडमा खाजा केही पाइन्थेन, ९ बजे नास्तामा चाउचाउ खान्थ्यौं। एक बजे खाना खान्थ्यौं। बाटोमा खच्चडले बेलाबेला सामान खसाल्ने गर्दा उठाएर राख्नु पथ्र्यो। दिनभर हिँडेर ६ बजे बास स्थान पुग्थ्यौं। खच्चडलाई बेलुकी दाना दिएर मालिस गरिदिन्थ्यो। मालिस गर्दा उनीहरूको थकाइ मेटिन्थ्यो। साँझ ६ बजे, १० बजे र १२ बजे दाना खुवाउँथ्यो । खुला आकासमुनी राति पनि यसरी काम गरिराख्नु पथ्र्यो। आफ्नो त थकाइ नै मेटिन्थेन,’ भट्ट सम्झिन्छन्।

व्यवसाय छाडेपछि सशस्त्र द्वन्द्वकालमा भट्टको परिवार धनगढी बसाइस¥यो। उनीहरूसँग जमिन थियो। तर, आर्थिक गतिविधि गर्न पैसा थिएन। अध्ययन गर्दा गर्दै धर्म ४५ सय मासिक रुपमा पाउने गरी कम्युटर तथा इलेक्ट्रोनिक पसलमा काम गर्न थाले । सोही पसलमा एसएलसी दिइसकेपछि डिल्ली पनि दैनिक ३० रुपैयाँ पाउने गरी काम गर्न थाले। त्यहाँ उनले कम्युटर मर्मतको काम सिके ।

त्यही समय उनले एउटा संस्थामा डाटा इन्ट्रिको काम पाए। त्यसबाट १० हजार रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यही पैसाले उनले एस कम्युर्टस एण्ड सप्लायर्स नामक फर्म दर्ता गरे । अफिसहरूमा गएर झोलामा बोकेका इलेक्ट्रोनिक सामान बेच्न थाले । ‘त्यतिबेला केही साथीभाइले मलाई झोले व्यापारी पनि भन्थे,’ मुस्कुराउँदै डिल्ली अतित सम्झिन्छन् ।

त्यसपछि उनीहरूले आफ्नै व्यवसाय अगाडि बढाउनुपर्छ भन्ने घर सल्लाह गरे । धर्मले पनि गरिरहेको जागिर छाडे र उनीहरूले आफ्नो व्यवसाय अगाडि बढाए । ०७० सालमा तीन लाखबाट सुरु भएको व्यापार आज करोडौंको पुगेको छ । अहिले होलसेलर र रिटेलरको काम गरिरहेको डिल्ली बताउँछन् ।

‘यतिबेला हामीले कार्यालय सञ्चालन सम्बन्धि सम्पूर्ण इलेक्ट्रोनिक र स्टेशनरी सामग्री एउटै छातामुनीबाट उपलब्ध गराउँदै आएका छौं। हाम्रा ग्राहक सन्तुष्ट छन्, हामी खुसी छौं। अब व्यवसायलाई हामी उत्पादन उन्मुख बनाउने योजनामा छौं,’ डिल्ली भन्छन्।

आधारभूत आवश्यक्ता पूर्ति भइसकेपछि आफूहरूले गरिरहेको व्यवसायतिर उपभोक्ता आउने भएकाले जेनजी आन्दोलनपछि व्यवसाय घट्दो अवस्थामा रहेको डिल्लीको भनाइ छ।

यस्तै धर्म आफूहरू व्यवसायमा प्रतिवद्ध रहेको बताउँछन्। ‘बुबाले परिवारबाट लामो समयसम्म हाम्रा खुसीका लागि घोडा खच्चरसँग जीवन विताउनु भयो। आमाले ठूलो दुःख गरेर हामीलाई हुर्काउनु भएको हो । उहाँहरूको संघर्ष नदेखेको भए हामीमा सायदै सानैमा यो व्यावसायीक चेत पलाउथेन होला । उहाँहरूको संघर्ष नै हाम्रो जीवनको प्रेरणा स्तम्भ हो,’ धर्म भन्छन्।

भट्ट दाजुभाइ तीनै तहका सरकार, गैरसरकारी संस्था, व्यापारी संस्था र विभिन्न निकायको सहयोगका कारण नै आफू आजको स्थानमा पुग्न सकेको बताउँछन्। अगामी दिनमा सेवा विस्तारका साथै गुणस्तरीय सेवा प्रदान गर्ने उनीहरूको प्रतिवद्धता छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १० : २२ बजे